काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन अब दुई सातामात्र बाँकी रहँदा मतदाता सूचीको शुद्धता र पहुँच सुनिश्चित गर्न निर्वाचन आयोग सक्रिय बनेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदानलाई व्यवस्थित र समावेशी बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको जनाएको छ ।
मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार तयार पारिएको उक्त कार्यविधिले स्थायी मतदाता नामावली अद्यावधिक गर्ने, छुटेका मतदातालाई समावेश गर्ने र विवरण सच्याउने प्रक्रिया स्पष्ट गरेको छ।
आयोगले आवश्यक कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ र त्यसलाई राष्ट्रिय सञ्चारमाध्यममार्फत प्रसारण गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
कार्यविधिअनुसार नेपाल सरकार तथा प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा–कैदी, निर्वाचनमा खटिने कर्मचारी, संवैधानिक निकायका पदाधिकारीलगायतका नाम स्थायी मतदाता सूचीमा समावेश गरिनेछ ।
आयोगले कुनै नागरिकको नाम छुटेको वा विवरणमा त्रुटि भएको अवस्थामा प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिन आग्रह गरेको छ ।
आयोगका अनुसार अद्यावधिक मतदाता सूचीले निर्वाचनको विश्वसनीयता र सहभागिता दुवैलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।