विराटनगर । गत माघमा मोरङ प्रहरीमा एउटा गुनासो पुग्यो । विभिन्न प्रलोभन पारेर रकम ठगी भयो । रकम पठाउन दिइएको बैंक एकाउन्ट विवरणसहित पीडितले प्रहरीसँग सहयोग माग्यो । उपलब्ध विवरणका आधारमा खोजतलास गर्दै जाँदा मोरङको जहदाका दुई युवासम्म प्रहरी पुग्यो । किनकी बैंक खाताबाट पैसा झिक्ने व्यक्तिसम्म नपुग्दासम्म स्क्यामरको जालो तोड्न प्रहरी सक्दैनथ्यो ।
मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार यो केसमा दुईजना पक्राउ परे । पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–२ का प्रशान्त मण्डल र दिपक साह थिए । प्रहरीले ठगीमा संलग्नहरु त पक्राउ गरेको थियो, तर तीनजना पीडित बाहेक बाँकीसम्म पुग्न सकेन । पक्राउ परेका आरोपित मण्डल र साहले व्यक्तिका नागरिकता भाडामा लिने, फोटो पनि बनाउने अनि बैंकमा खाता खोल्ने । खोलिएका खाताको विवरण ठगी गर्ने सञ्जालसँग जोड्ने । आफैं पनि विभिन्न प्रलोभन देखाएर पैसा पठाउन लगाउने आरोप छ ।
तर, प्रहरीले नागरिकता भाडामा लिएर ठगी गर्ने उनीहरुको सञ्जालको फेहेरिस्तसम्म पुग्नै सकेन । नागरिकता दिने पनि पीडित छन्, पैसा पठाउने पनि पीीडत छन् । तर, कानुनले जसको नाममा खाता छ, उसलाई पीडित मान्दैन । मण्डल र साहले खाता खोलेर व्यक्तिगत विवरणको दुरुपयोग गर्दा बैंकका कर्मचारीको समेत मिलेमतो देखिएको थियो । त्यस क्रममा बैंकको ओपीटी कसरी स्क्यामरसम्म पुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने थियो ।
प्रहरीले मण्डल र साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न समेत, के मा मुद्दा चलाउने यकिन गर्न सकेन । उनीहरु विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएर ठगीमा अनुसन्धान गर्ने क्रममा बर्दियाका एकजना पीडितसम्म प्रहरी आफैं पुग्यो, तर निष्कर्ष निकाल्न भने सकेन । त्यस बाहेक अन्य दुईजना पीडितसम्म पनि पुग्यो तर सञ्जालसम्म जाने बाटो भेटेन ।
प्रहरी उपरीक्षक कटुवालका अनुसार दुईजनालाई पक्राउ गरेर तीनजना भेटिएका पीडितको पैसा चाँहि फिर्ता गराइएको छ । जसमध्ये मोरङमा बसेर उनीहरुले गरेको अपराध कर्मले बर्दियाका पीडितबाट ११ लाख ६३ हजार ठगीएको थियो । अर्का एकजनाको २ लाख ४५ हजार र अर्का एकजनाबाट १ लाख ८५ हजार थियो । प्रहरीका अनुसार भाडामा नागरिकता लिएर बैंक एकाउन्ट खोलेपछि ती खाता स्क्यामरको पहुँचमा पुग्ने गरेको हो ।
तर, यसमा बैंक खाताधारीहरुले नागरिकता भाडामा दिएको या व्यक्तिका विवरणको दुरुपयोग भएको भन्ने पनि राम्ररी खुलेको छैन । तर, पक्राउ परेकाहरुको अनुसन्धानमा २० जनाको नाममा बैंक खाता खोलेको तर उनीहरुलाई आफ्नो नाममा बैंक खाता छ भन्ने यकिन नभएको स्थितिसम्म प्रहरीको अनुसन्धान पुगेर रोकिएको छ ।
पीडित नआउँदा र ठगीमा परेकाहरुको पैसा फिर्ता गरेका कारण अभद्र व्यवहार मुद्दामा उनीहरु दुवैलाई ५\५ हजार धरौटीमा छोडेको छ । यद्यपी घटनाको अनुसन्धान भने अहिले नै नसकिएको प्रहरीले जनाएको छ । यो घटनामा बैंकका कर्मचारीको मिलेमतोदेखि नागरिकता दिने व्यक्तिहरुको मिलेमतोसम्मको पाटो केलाउने काम भइरहेको प्रहरीको दावी छ ।
जनहितमा जारी सूचना
घटनाले हैरान परेको प्रहरीले एउटा सार्वजानिक सूचना जारी गरेर नागरिकलाई सचेत हुन आग्रह गरेको छ । जसमा भनिएको छ–
अपरिचित नम्बरबाट फोन गरी आफू बैंकको प्रतिनिधि भएको दाबी गर्दै खातासम्बन्धी विवरण, ओटीपी, पिन नम्बर तथा मोबाइल बैंकिङको जानकारी माग्ने घटना बढ्दै गएकाले ुतपाईंको केवाइसी अपडेट अधुरो छ, खाता बन्द हुन लाग्यो, डकुमेन्टमा समस्या देखियो, जस्ता बहाना बनाउँदै ओटीपी र गोप्य कोड माग्नुका साथै वाट्सएप तथा अन्य सामाजिक सञ्जालमार्फत भिडियो कल गरी अनुहार देखाउन र बैंकको एप खोल्नसमेत अपरिचित नम्बरबाट आउने यस्ता फोनप्रति सजग रहन, कुनै पनि गोप्य जानकारी नदिन र शंका लागेमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित बैंकमा तत्काल जानकारी गराउन आग्रह गर्दछौ।