विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार सुजित साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् ।
त्रिभुज चुनाव चिह्न लिएर उम्मेदवारी दिएका साहले सोमबार आफूले उम्मेदवारी फिर्ता लिँदै रास्वपाको घण्टी चिह्नमा समर्थन जनाउने निर्णय गरेको जानकारी दिएका हुन् । उनले मोरङ–५ को समग्र विकास र वैकल्पिक राजनीतिक शक्तिलाई सुदृढ बनाउन आफूले उक्त निर्णय लिएको उल्लेख गरेका छन् ।
यस सम्बन्धी जानकारी रास्वपाका नेता वीरेन्द्रकुमार साहले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। उनले सुजित साहको निर्णयलाई “मोरङ–५ मा परिवर्तनको पक्षमा देखिएको सकारात्मक संकेत” का रूपमा टिप्पणी गरेका छन् । स्वतन्त्र उम्मेदवारको समर्थनसँगै मोरङ–५ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। रास्वपाकी उम्मेदवार आशा झाले विभिन्न राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूको समर्थन जुटाउँदै आएकी छन्। ।
मोरङ–५ मा प्रतिनिधि सभा सदस्यका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ। आगामी निर्वाचनको परिणामले क्षेत्रको राजनीतिक समीकरण कता मोडिने भन्ने चासो बढेको छ ।