प्रेम देवान
विराटनगर । फागुन २१ गते भएको प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि मोरङमा ११० जनाले उम्मेदवारी दिएका थिए । जस मध्ये ९१ जनाको जमानत जफत भएको छ भने १९ जनाले आफ्नो जमानत जोगाउन सफल भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यलय मोरङका अनुसार कुल उम्मेदवारको ८२.७२ प्रतिशत जमानत जफत भएको छ । मोरङ ठुला मानिएका दल नेपाली काग्रेस बाहेक नेकपा एमाले , नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकास उम्मेदवारको जमानत जफत भएको हो । नेकपा एमालेको क्षेत्र नम्बर १ र २ बाहेक सबै क्षेत्रका उम्मेदवारको जमानत जफत भएको छ ।
प्रतिनिधी सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ अनुसार प्रत्यक्ष तर्फ खसेको कुल सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुन्छ । सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका अधिकास उम्मेदवारले मोरङमा आफ्नो जमानत जोगाउन सकेनन् ।
जमानत जफत हुनेहरुमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार ईरान राई ( ७७५२), क्षेत्र नम्बर ४ का जीवन घिमिरे( ६९३३), क्षेत्र नम्बर ५ का मनोज कुमार अग्रवाल (६९४५ ) र ६ का विनोद प्रसाद ढकाल (८३१७ ) को जमानत जफत भएको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीको पनि क्षेत्र नम्बर १, २, ३ र ६ का उम्मेदवारहरुको जमानत जफत भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट कुलप्रसाद साम्बा (२२२४ ), मोरङ २ चन्द्रवीर राई (१३६६) र मोरङ ३ डा.देउमान सम्बाहाम्फे (१२५९ )ओपेन्द्र कुमार राय (१७१६) मत प्राप्त गरेका थिए । त्यसैगरी २०७९ सालमा मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित पुर्व सासद योगेन्द्र मण्डलले पनि आफ्नो जमानत जोगाउन भने सकेनन् ।
उनले यसपटक राष्ट्रिय उर्जाशिल पार्टी दल दर्ता गरेर चुनावी मैदानमा उत्रिएका थिए । उनले मोरङ क्षेत्र नम्बर ५ मा यसपटक ४१९९ मत प्राप्त गरेका थिए । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी , श्रम सस्कृति पार्टी लगायत ९१ जना उम्मेदवारको जमानत जफत भएको छ भने १९ जनाले आफ्नो जमानत सुरक्षित गर्न सकेको मोरङका मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।