विराटनगरका ट्राफिक लाइट भदौ यता बन्द, दशलाख खर्चन पनि छैन चासो

<span class='c1'>विराटनगरका ट्राफिक लाइट भदौ यता बन्द,</span> <span class='c2'>दशलाख खर्चन पनि छैन चासो</span>

सोनु साह
विराटनगर । भदौ महिनादेखि ट्राफिक लाइट विहीन बनेको विराटनगरमा अहिलेसम्म त्यसको मर्मत गर्ने चासो छैन । निर्माण कम्पनीले हस्तान्तरण गर्न नपाउँदै जेनजी आन्दोलनको निशानामा परेका थिए । त्यसयता ट्राफिक लाइट सञ्चालनमा आउन सकेको छैन। बिहानदेखि बेलुकासम्म अत्यधिक सवारी चाप हुने शहरमा ट्राफिक लाइट नहुँदा दैनिक आवागमनमा समस्या भइरहेको सवारी चालकहरूले गुनासो गरेका छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा शहरका ट्राफिक लाइटहरू समेत तोडफोडको निसानामा परेका थिए। आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ट्राफिक लाइटहरू हालसम्म पनि बिग्रिएकै अवस्थामा रहेका छन्। जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेका अनुसार आन्दोलनका क्रममा तोडफोड भएका ट्राफिक लाइटहरू मर्मत गर्ने प्रक्रिया अघि बढाइएको छ। उनले कोशी प्रदेश सरकारका मन्त्रालयहरू तथा विराटनगर महानगरपालिकासँग आवश्यक समन्वय भइरहेको जानकारी दिए।

उनका अनुसार यसै महिनामा विराटनगरको बरगाछी चोकमा रहेको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको भए पनि प्राविधिक समस्याका कारण पुनः बन्द भएको छ। बरगाछीको ट्राफिक लाइट कोशी प्रदेश सरकारअन्तर्गत रहेकोले मर्मतसम्बन्धी कागजी प्रक्रिया अघि बढाइँदैछ। न्यौपानेले निर्वाचनका कारण पनि कामले गति लिन नसकेको बताए। “अब निर्वाचन सम्पन्न भइसकेको छ, त्यसैले ट्राफिक लाइट मर्मतको काम भोलिदेखि नै तीव्र रूपमा अघि बढाइनेछ,” उनले भने।

कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा लाखौँ मानिस बसोबास गर्छन् र सवारीसाधनको चाप पनि अत्यधिक छ। शहरका विभिन्न चोकमा ट्राफिक व्यवस्थापन सहज बनाउन छ स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो।  विवरणअनुसार विराटनगर महानगरपालिकाले महानगर–१२ रोडशेष चोक, महानगर–६ घाँसचोक, महानगर–४ कञ्चनबारी चोक, महानगर–७ जलजला चोक र महानगर–३ तिनपैनी चोकमा ट्राफिक लाइट जडान गरेको थियो भने बरगाछी चोकमा कोशी प्रदेश सरकारले ट्राफिक लाइट जडान गरेको थियो। ट्राफिक लाइट बिग्रिएपछि चोकहरूमा सवारी जाम, भीडभाड तथा पैदल यात्रुका लागि जोखिम बढेको छ। ट्राफिक प्रहरीका अनुसार लाइट सञ्चालनमा हुँदा सवारी व्यवस्थापन सहज हुन्थ्यो तर अहिले सवारी साधन नियन्त्रण गर्न निकै कठिन भएको छ।

“ट्राफिक लाइट हुँदा सवारी सहज रूपमा चल्थ्यो, अहिले लाइट नहुँदा गाडी चलाउन निकै समस्या भएको छ,” एक बस चालकले बताए। उनले ट्राफिक लाइट छिटो सञ्चालनमा ल्याउन सबै निकायले पहल गर्नुपर्ने बताए। ट्राफिक प्रहरीका अनुसार ट्राफिक लाइट नचल्दा प्रहरी र सवारी चालक दुवैलाई असहज भएको छ। लाइट बिग्रिएपछि विशेष गरी बरगाछी क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयले बताएका छन्।

ट्राफिक लाइट मर्मतका लागि करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। स्थानीयहरूका अनुसार यति सानो बजेटको काम समेत महानगरले समयमै नगर्नु स्थानीय सरकार गम्भीर नभएको संकेत हो। ट्राफिक प्रमुख न्यौपानेले भने महानगरसँग समन्वय भइरहेको तर प्रक्रियागत कारणले काम ढिलाइ भएको बताए। ट्राफिक लाइट लामो समयसम्म बन्द रहँदा विराटनगरका मुख्य सडकहरूमा दुर्घटनाको दर समेत बढ्दै गएको ट्राफिक प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्