एमालेलाई हारमै साथ

<span class='c1'>एमालेलाई हारमै</span> <span class='c2'>साथ</span>

म एमाले पार्टीलाई जितमा भन्दा हारमा साथ दिन्छु। किनकि जित्दा त सबै आउँछन् बधाई, फूल र फोटो लिएर। जितको घाम लागेको बेला छायाँ पनि साथ दिन्छ, अनि धेरै “साथी”हरू अचानक नजिकिन्छन्। तर हारको बादल लाग्दा त्यो छायाँ पनि हराउँछ, धेरै अनुहारहरू टाढा हुन्छन्, अनि साँचो साथ दिनेहरू मात्रै बाँकी रहन्छन्। तर साथ दिनु भनेको गलतलाई ढाकछोप गर्नु होइन। गलत भनेको गलत नै हो।

आत्मआलोचना गर्नै पर्छ चाहे त्यो आफ्नो पार्टीभित्र होस् वा अरूको। आफ्नो घरभित्रको कमजोरी देख्न नसक्नेले देशको नेतृत्व गर्ने नैतिकता पनि राख्दैन। आज प्रश्न केवल चुनाव हार्ने वा जित्ने मात्र होइन। प्रश्न यो हो हामी त धुलो टकटकाएर उठ्न सकौँला, तर कार्यकर्ता र मतदाताको भरोसा कसरी उठाउने? नेतृत्वले समयमै नसोच्दा आज पार्टी यो अवस्थामा पुगेको हो। अझै पनि केही मानिसहरू “के भयो र, अर्को चुनाव जितिन्छ” भन्ने भ्रममै बसिरहेका देखिन्छन्। तर यस्तै सोचले अगाडि बढ्ने हो भने पार्टीको भविष्य झन् अन्योलमा पर्छ। अब केवल एउटालाई फालेर अर्को ल्याउने कुरा मात्र होइन। सोच, संस्कार र कार्यशैलीमै परिवर्तन आवश्यक छ। पुराना गलत अभ्यास, गुटबन्दी र अहंकारको राजनीति छोडेर ज्ञान, सीप र जिम्मेवारी बोकेका युवाहरूलाई अगाडि ल्याउने समय आएको छ।

आजकल केही “बौद्धिक” हरूले हरेक चुनावी हारलाई Abraham Lincoln सँग तुलना गर्न थालेका छन्। भन्छन्—“लिङ्कन पनि त धेरै पटक हारेका थिए।” हो, इतिहास हेर्ने हो भने लिङ्कनले वास्तवमै धेरै असफलताहरू देखे। 1832 मा उनी इलिनोइस राज्यको विधानसभा चुनाव हारे। 1838 मा स्पीकर बन्न सकेनन्। 1843 मा कांग्रेसको टिकट पाउन सकेनन्। 1848 पछि उनको राजनीतिक करियर लगभग सकियो भन्ने धेरैलाई लागेको थियो। 1855 मा सेनटर बन्ने प्रयास पनि असफल भयो। 1858 मा सेनटरको चुनाव फेरि हारे। तर लिङ्कनको महानता के थियो भने— उनले कहिल्यै हारलाई बहाना बनाएनन्। उनले हारलाई पाठ बनाए। हरेक असफलतापछि उनले आफूलाई सुधारे, विचारलाई स्पष्ट बनाए, जनतासँग अझ नजिकिए। त्यसैले अन्ततः 1860 मा उनी अमेरिकाको राष्ट्रपति बने र इतिहासमा दासप्रथाको अन्त्य गर्ने महान नेताको रूपमा स्थापित भए।

तर एउटा कुरा स्पष्ट बुझ्नुपर्छ हरेक हार लिङ्कनको यात्रा हुँदैन। लिङ्कनको हार संघर्षको परिणाम थियो। तर धेरै हारहरू आजको राजनीतिमा अहंकार, असक्षमता, गुटबन्दी र जनताबाट टाढिएको नेतृत्वको परिणाम हुन्छन्। त्यसैले हरेक हारपछि “लिङ्कन पनि त हारेका थिए” भनेर सस्तो तुलना गर्नु आत्मछल मात्रै हो। साँचो प्रश्न यो हो यदि हामीले अहिले पनि आत्मआलोचना गरेनौँ भने, यदि हामीले अहिले पनि नयाँ सोच र नयाँ नेतृत्वलाई स्थान दिएनौँ भने, त्यसपछि हारको कथा दोहोरिरहनेछ। म हारबाट भाग्ने भीडको हिस्सा होइन। म अझै विश्वास गर्छु संघर्ष गर्ने पार्टी, आत्मआलोचना गर्न सक्ने नेतृत्व र जिम्मेवारी लिन सक्ने युवाहरूले मात्रै नयाँ उचाइ छुन सक्छन्। आज हार छ तर यदि हामीले सही पाठ सिक्यौँ भने भोलि यही हार नै नयाँ इतिहासको सुरुवात बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्