विराटनगर । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा निर्वाचित उम्मेदवार रुबिना आचार्यले आफ्नो खर्च विवरण निर्वाचन आयोगलाई बुझाएकी छिन् । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालालाई हराएकी उनले १२ लाख ४० हजार ७०६ रुपैँया खर्च विवरण बुझाएकी हुन् ।
निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ मा आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी थिइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार विनोदप्रसाद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका थिए ।
निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा सवारी साधन भाडाका लागि १ लाख ४९ हजार ४ सय, अभियान्ता, स्वयंसेवक, प्रतिनिधि खाना, खाजा, चिया पानी खर्चमा २ लाख ४७ हजार ९३५ रुपैयाँ, सचिवालय स्थापना र चिया नास्ता शीर्षकमा १२ हजार ९३५, बुथ प्रतिनिधि प्रशिक्षण, व्यवस्थापनका लागि २ लाख, प्रचारप्रसार सामग्री, साउन्ड सिस्टम सिटी रिक्सामा प्रचारका लागि २ लाख २५ हजार ७७६ रुपैया र विद्युतीय प्रचारप्रसार फोटोकपी तथा भिडियोग्राफीका लागि ३ लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।