काठमाडौँ । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् ।
गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म १४ लाखको हाराहारीमा दर्शकले युट्युबमा हेरिसकेका छन् । गीतले लोकप्रियता पाएसँगै यो टिकटकर, रील्स हेर्ने दर्शकको रोजाइमा परेको छ । उक्त गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको नृत्यको चर्चा अहिले सामजिक सञ्जालमा बढिरहेको छ । उनीहरूले गीतमा गरेको स्टेपलाई अहिले टिकटक भिडिओ, फेसबुक रील्समा हुबहु नृत्य गर्ने र भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन् । ती सञ्जालमा एक्टिभ रहेका प्रयोगकर्तासँगै कन्टेन्ट क्रिएटरको रोजाईमा समेत ‘मायालाई के दिउँ म बैना’ परिरहेको छ । टिकटकमा हजारौं भिडिओ बनेका छन्, जहाँ समाइरा र स्वस्तिमाको नृत्यको प्रशंसा भएको शब्दहरू देख्न सकिन्छ । प्रयोगकर्ताहरूले समाइरा र स्वस्तिमाको नृत्य शैली, गायक र गायिकाको आवाजको खुलेर तारिफ गरेका छन् । उनीहरूले फिल्ममा लोकभाकाको प्रयोग गरिएको भन्दै निर्माण समूहलाई धन्यवाद पनि दिएका छन् ।
अभिनेत्री खड्काले उक्त गीत निर्माणको विषयमा कुराकानी गर्दै गीतको तयारी दृश्यकै छायांकनको बीच बीचमा गरिएको बताइन । उनले भनिन्, ‘हामीले दृश्य छायांकन गर्दा बचेको समयमा नृत्यको प्राक्टिस गर्थियौ । हाम्री बालकलाकार समाइराले गज्जब नृत्य गरेकी छिन्, उनको कामले पनि मलाई प्रेरणा मिल्थ्यो । यी सानी नानीले गज्जब गरेकी छिन्, मैले पनि मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो । हामी सबैको प्रयासले गीत राम्रो बन्यो र अहिले दर्शकले रुचाएको पाउँदा मेहनतको फल पाएको आभाष भएको छ ।’ उक्त गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका छन् । गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ। साथै, सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेखेका हुन् । गायिका दीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ गीत दर्शकमाझ निकै लोकप्रिय बनेको थियो । फिल्मको प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । निर्देशक थापाले कथाको परिवेश अनुसार गीत तयार गरिएको बताए । ‘यो गीत कथासँग जोडिएर आएको छ । हामीले यसलाई कथा भन्दा फरक नबनाएर कथालाई अगाडि बढाउने गरी तयार गरेका छौँ । अहिले गीतलाई दर्शकले दिनुभएको मायाले हामी हर्षित भएका छौँ’, निर्देशक थापाले भने । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।