विराटनगर । कोशी प्रदेशको विराटनगर क्षेत्रमा शुक्रबार राति ८ः ४५ बजेदेखि तीव्र हावाहुरीसँगै वर्षा सुरु भएको छ। विराटनगरसहित मोरङ जिल्लाका विभिन्न स्थानहरूमा केही समयअघिदेखि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले यसअघि नै चैत ६ गते बेलुकादेखि चैत ७ गते शनिबारसम्म हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको थियो। सोही अनुसार अहिले मौसम प्रतिकूल बनेको देखिएको छ।

विशेषगरी विराटनगर लगायत मोरङका क्षेत्रमा हावाहुरीको गति प्रतिघण्टा करिब ११० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। मौसमविद्हरूका अनुसार यस्तो तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचनामा क्षति पुग्ने, साथै विद्युत तथा सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम उच्च रहेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक रूपमा घरबाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र जोखिमयुक्त संरचनाबाट टाढा रहन प्रशासनले सुझाव दिएको छ।
अघिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा हावाहुरीका कारण मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै यसपटक पनि आवश्यक सावधानी अपनाउन प्रशासनले पुनः अनुरोध गरेको छ।