विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका २ मा १६ वर्षीया किशोरीले प्राणान्त गरेको एक महिना २४ दिनपछि आत्माहत्या दुरुत्साहनमा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बुढीगंगा २ घर भइ न्यू सेभ कराँते एकाडेमीका गुरु समेत रहेका पुष्कर राना मगरलई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।
नरग्राम माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत सुरक्षा बिश्वकर्माले गत माघ १४ गते घरभित्रै प्राणन्त गरेकी थिइन् । उनी न्यू कराँते एकाडेमीमा कराँते सिक्दै आएकी थिइन् । थ्रिस्टेप ब्राउन बेल्टमा पुगेकी सुरक्षामाथि आफ्नै गुरु रानाले ब्याकमेलिङ गरेको आरोप बाबुआमाले लगाएका थिए ।
बुबा रामबहादुर बिश्वकर्माले आफ्नी छोरीलाई प्रलोभनमा पारेर गलत नियतले कहिंकतै लगिकन उसको फोटो भिडियो खिचेर अन्यन्त्र पठाएको पाइएको दावी गरेका थिए । त्यसका आधारमा उनले प्रहरीमा जाहेरी दिएका पनि थिए । तर, प्रहरीले तत्काल आरोपितलाई नियन्त्रणमा लिएपनि त्यसै छोडेको थियो ।
यद्यपी उनको मोवाइल नियन्त्रणमा लिएर त्यसको परीक्षण गर्न डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । घटनापछि त्यसको प्रतिवेदन आउने समय लाग्दानलाग्दै निर्वाचनमा व्यस्त हुनु परेको थियो । मोरङका प्रहरी प्रवक्ता लिलाराज लामिछानेका अनुसार राना मगरलाई फागुन ६ गते नियन्त्रणमा लिएर बालिकाको आत्माहत्या दुरुत्साहन मुद्दामा म्याद थप गरिअनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
घटनापछि सुरक्षाका बाबुआमा रामबहादुर र बिष्णुमायाले न्याय पाउनुपर्ने माग गर्दै आएका थिए । प्रहरीले डिजिटल फरेन्सिक रिपोर्ट आएपछि पक्राउ पूर्जी लिएर अनुसन्धान थालेको हो । नरग्राम माध्यमिक विद्यालयको कक्षा ९ मा नै अध्ययनरत १६ वर्षीया श्रीजा बिष्टले समेत प्राणन्त गरेकी थिइन् । माघ १८ गते यो दोस्रो घटना भएको हो ।