विराटनगर । मोरङ–सुनसरीका दशवटा फर्मका कुखुरामा एचफाइभ एनवान (बर्डफ्लु) र मौसमी इन्फ्लुएन्जा (एचवान एनवान) देखिएपछि नष्ट गरिएको छ । अहिलेसम्म दुई जिल्लाका ८ वटा फममा लेयर्स र दुईवटा फमका ब्रोइलर कुखुरा नष्ट गरिसकिएको छ । झापामा समेत एउटा फमका कुखुरामा संक्रमण पुष्टि भएको समाचार आइरहेका छन् ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डाक्टर अजयकुमार साहका अनुसार, विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फार्म, सुन्दरहरैँचा नगरपालिका–४ स्थित हलेसी महादेव कृषि फार्म, उर्लाबारी नगरपालिका–८ स्थित अठियावारी कृषि फार्म, कटहरी गाउँपालिका–२ स्थित ए टु जेड पोल्ट्री फार्म, कटहरी–६ स्थित कामख्या पोल्ट्री फार्ममा बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका १९ मा रहेको ओको कृषि फर्म, इटहरी १७ मा रहेको लक्ष्मी पोल्ट्री फार्म, इटहरी १८ मा रहेको रानी कृषि फार्म, इटहरी ११ मा रहेको आलम कृषि फर्म, गढी गाउँपालिका ५ मा रहेको संगित कृषि फर्ममा बर्डफ्लू पुष्टि भएको हो ।
व्यवसायीहरुले अहिलेको संक्रमण देखिनुलाई दुई आधार मानेका छन् । जसमा चैतमा हुनुपर्ने बराबरको तापक्रम नहुनु र माघमा बिहारमा बर्डफ्लु संक्रमण फैलदा नेपालका नाकाबाट कुखुरा प्रवेश नरोक्नु । नेपाल लेयर्स कुखुरा पालक संघ सुनसरी–मोरङका अध्यक्ष होम बास्तोलाका अनुसार अहिलेसम्म एचफाईभ एनवान (बर्डफ्लु) बाट संक्रमित भएका ३५ हजार कुखुरा र त्यससँग सम्बन्धित सम्पूर्ण सरसामाग्री, खोरको सुलि र खोरलाई निसंक्रमण गर्ने काम गरिएको छ । त्यस बाहेक एचवान एनवान २ लाख २४ हजार कुखुरामा देखिएपछि नष्ट गरिएको छ ।
मासु व्यवसायी संघ मोरङका अध्यक्ष सुवा शिवाकोटीले कुखुरामा देखिएको संक्रमणको असर व्यवसायमा देखिन थालेको बताएका छन् । शिवाकोटीले राज्यले संक्रमण फमलाई डिस्पोज गर्ने र सुरक्षित फमलाई अझै बढी सुरक्षा प्रदान गर्ने कुरामा ध्यान दिनुपर्ने र किसानलाई सहयोग गर्नुपर्ने माग गरेका छन् ।
भारतको बिहारमा गत फागुन पहिलो हप्ता फैलिएको बर्डफ्युका कारण ८० प्रतिशत फामका कुखुरा नष्ट गरिएको व्यवसायीहरुको दावी छ । त्यहि बेला नेपालमा फागु पूर्णिमा फागुन १९ गते र निर्वाचन फागुन २१ मा परेको थियो । माग उच्च भएका बेला भारतबाट संक्रमित कुखुरा भित्रिएकाले यहाँ समस्या भएको एकाथरीको बुझाई छ ।
तर, अहिले कुखुरामा देखिएको संक्रमण तापक्रम कम हुँदाको असर भएको नेपाल लेयर्स महासंघका अध्यक्ष बास्तोला बताउँछन् । अघिल्लो वर्ष फागुन १५ गतेदेखि तापक्रम बढ्दै जान्थ्यो । चैतमा ३० डिग्री सेन्टीग्रेड हुन्थ्यो । तर, यस पटक फागुनमा तापक्रम बढेन, चैतको पहिलो हप्ता जताततै असिना पानी परेपछि चिसो बढ्यो । जसको असर कुखुराको फाममा परेको दावी छ । अध्यक्ष बाँस्तोलाका अनुसार १५ देखि ३० डिग्री सेन्टीग्रेड तापक्रममा कुखुरामा लाग्ने यो संक्रमण सबैभन्दा धेरै फैलिन मद्दत पुग्दछ । अहिले वातावरण नै अनुकुल भइदिएका कारण यसको संक्रमण बढ्दो देखिएको हो । यदि तापक्रम ३० देखि ३५ डिग्री हुने हो भने यो आफैं कम हुने दावी गरिएको छ ।