मोरङसहित मधेशमा चैती छठ सम्पन्न

<span class='c1'>मोरङसहित मधेशमा चैती</span> <span class='c2'>छठ सम्पन्न</span>

सोनु साह
विराटनगर। मोरङसहित सम्पूर्ण मधेश प्रदेश मा श्रद्धा, निष्ठा र लोक आस्थाको महापर्व चैती छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य (भोरका अरघ) अर्पण गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ। विराटनगर लगायत विभिन्न स्थानका नदी, खोला, पोखरी तथा नहरका घाटहरूमा व्रतालुहरूले अँजुलिभरी जल र प्रसाद लिएर सूर्यदेवको पूजा–आराधना गरेका हुन्।

चैत शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको यो महापर्व चार दिनसम्म मनाइन्छ। मंगलबार षष्ठी तिथिका दिन व्रतालुहरूले दिनभर निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई ‘सँझिया अर्घ्य’ अर्पण गरेका थिए भने बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व समापन गरिएको हो।

पर्वका अवसरमा विराटनगरस्थित सिँघिया खोला किनार, घिना घाट तथा अन्य जलाशय क्षेत्रहरूलाई विशेष रूपमा सिँगारिएको थियो। सन्तान प्राप्ति, चर्म रोगबाट मुक्ति तथा परिवारको सुख–समृद्धिको कामना गर्दै मनाइने यस पर्वका कारण गाउँदेखि सहरसम्मको वातावरण भक्तिमय बनेको देखिन्थ्यो।

छठ पर्वमा सूर्यदेव र षष्ठी देवी (छठी माइ) को पूजा गर्दै ठेकुवा, भुसुवा, केरा, उखु, सुन्तला, बेसारको बोट, मूला र सुथनी जस्ता स्थानीय कृषि उपजलाई प्रसादका रूपमा अर्पण गरिन्छ। बुधबार बिहानको अर्घ्यपछि व्रतालुहरूले पारण गरी परिवार, आफन्त तथा छिमेकीहरूबीच प्रसाद वितरण गरेका छन्।

वर्षमा दुई पटक—कात्तिक र चैत महिनामा—मनाइने छठ पर्व मधेशको लोक संस्कृतिको अभिन्न अंग मानिन्छ। कात्तिक छठको तुलनामा चैती छठ मनाउनेको संख्या केही कम भए पनि पछिल्ला वर्षहरूमा यसप्रति श्रद्धा र सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीयहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्