विराटनगर । विराटनगर सहित मोरङका ५ स्थानमा पालिएका कुखुरा फार्महरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि त्यसक्षेत्रका आसपासलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
मोरङको सुन्दरहरैँचा ४, उर्लाबारी ८ कटहरी गाउँपालिका २ र ६ रहेका छन् भने यता विराटनगर महानगरपालिका वडा नं.४ मा रहेको फार्ममा बर्डफ्लु संक्रमण देखिएपछि मोरङ प्रशासनले उच्च जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउदै संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । संक्रमण पुष्टि भएसँगै बर्ड फ्लु नियन्त्रण नियमावली २०७८ बमोजिम प्रभावित क्षेत्रहरूको चारै दिशातर्फ २० मिटरसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रणका कार्यहरू अगाडि बढाइएको छ। रोग मानिसमा समेत सर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले संक्रमण देखिएका पालिकाहरूबाट पन्छी तथा पन्छीजन्य सामग्रीहरू अण्डा, दाना, फोहर र कुखुराको सुलीको आयात, निर्यात तथा ओसारपसारमा अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रोक लगाएको छ । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले एक सूचना जारी गर्दै जिल्लाबासी, कृषक, व्यवसायी तथा उपभोक्ताहरूलाई आवश्यक सतर्कता अपनाउन र नियन्त्रण अभियानमा सहयोग तथा समन्वय गर्न आग्रह गरेका छन्। ।
संक्रमण थप फैलिन नदिन र जनस्वास्थ्यको सुरक्षाका लागि प्रशासनले यस्तो कडा कदम चालेको जानकारी दिँदै फार्ममा असामान्य रूपमा पन्छी मरेमा तत्काल जानकारी गराउन समेत प्रशासनले अपिल गरेको छ । पछिल्लो समयमा झापा, मोरङ र सुनसरीमा बर्डफ्लुको संक्रमण देखिएको कोशी प्रदेश सरकारको कृषि मन्त्रालयले जनाएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार मोरङमा अहिले सम्म ४० हजार भन्दा बढी कुखुरा र ५७ हजार बढी अण्डा नष्ट गरिएको छ । नेपालमा पहिलो पटक सन् २००९ को जनवरीमा ‘बर्ड फ्लु’ देखिएको थियो। त्यसयता नेपालका विभिन्न जिल्लाहरूमा पटक–पटक यो संक्रमण बल्झिँदै आएको छ। २०७६ वैशाखमा नेपालमा बर्डफ्लुका कारण एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको थियो।
बर्डफ्लु मुख्यतया पंक्षीहरूमा लाग्ने रोग भए तापनि यो मानिसमा सर्ने जोखिम सधैँ रहन्छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विज्ञहरूका अनुसार संक्रमित पक्षीको र्याल, सुली वा मासुको सोझो सम्पर्कमा आउने मानिसमा यो संक्रमण सर्न सक्छ। विशेषगरी फार्ममा काम गर्ने मजदुर र मासु काट्ने व्यक्तिहरू यसको उच्च जोखिममा रहने गरेको चिकित्सकहरुले बताएका छन् ।