विराटनगर । पन्ध्रदिनको अन्तरमा इन्धनको मूल्य प्रतिलिटर ३० रुपैँयाले बढ्यो । इरान, इजरायल–अमेरिका तनावको असरले नेपालमा डिजेल र पेट्रोलको मूल्य बढ्दो क्रममा छ । यदि यो तनाव अझै लम्बिएमा इन्धनको मूल्य एक हप्ता नपुग्दै पुनः बृद्धि हुनेछ । इन्धनको मूल्य घटबढ हुनुमा नेपालको सरकारको हात हुँदैन । तर, यसको असर कति पर्छ भन्ने कुरा अहिले सिमेन्टमा भएको मूल्य बृद्धिबाटै थाहा हुन्छ ।
सिमेन्ट उद्योगीले चुनाव सकिएपछि २ पटकसम्म मूल्यवृद्धि गरिसकेका छन् । उद्योगीले इन्धनमा भएको मूल्यवृद्धिले ढुवानीदर बढेको र प्याकिङ सामग्रीमा पनि मूल्यवृद्धि भएको जिकिर गर्दै २ पटकमा बोरामा ९० रुपैयाँसम्म मूल्यवृद्धि गरेका हुन् । यो समय निर्माणको हो । यहिबेला सिमेन्टमा प्रतिबोरा ९० रुपिँयाले मूल्य बृद्धि भएको छ । त्यो पनि यस अगाडी डिजेल र पेट्रोलमा १५ रुपिँया प्रतिलिटर मूल्य बृद्धि हुँदाको हो । त्यस लगतै पुनः मंगलबारदेखि प्रतिलिटर १५ रुपैँयाले मूल्य बृद्धि भएको छ । अब त्यसको असर पुनः सिमेन्टमा देखिनेछ ।
उद्योगीले निर्वाचनअघि नै आपसी सहमतिमा बोरामा ५० का दरले सिमेन्टको मूल्यवृद्धि गर्न खोजेका थिए । तर वाणिज्य विभागले चुनावमा असर पर्ने भन्दै रोक लगाएको थियो । चुनावपछि उनीहरुलाई कसैले छेकेको छैन । सिमेन्ट उद्योगले चुनावपूर्व विराटनगरका हार्डवेयर पसलका गोदाममा एक बोरा ओपिसी सिमेन्ट अनलोड गरेको मूल्य ७७० देखि ७८० रुपैयाँ लिइरहेका थिए ।
जसअनुसार पसलेले आफ्ना ग्राहकलाई ७९० देखि ८ सय सम्ममा ओपिसी सिमेन्ट विक्री गरिरहेका थिए । चुनाव सकिनेबित्तिकै फागुनको पहिलो सातामा उद्योगीले पसलेलाई डिजलको मूल्य बढेको भन्दै बोराको ३० देखि ४० रुपैयाँले ढुवानीदरमा वृद्धि भएको जानकारी गराए । त्यस्तै प्याकिङ सामग्रीमा मूल्यवृद्धि भएको हुँदा बोरामा पनि २० रुपैयाँ बढेको बताए । यसका कारण एकैचोटि बोराको ६० रुपैयाँले सिमेन्टको मूल्य बढाइएको थियो ।
चुनावअघि बोराको ७९० देखि ८ सयमा ओपिसी सिमेन्ट विक्री गरिरहेका पसलेले यसपछि ८५० देखि ८६० रुपैयाँ लिन थालेका थिए । उद्योगले आइतबार डिजलको मूल्यवृद्धि भएको भन्दै फेरि बोराको ३० रुपैयाँ वृद्धि गरेका छन् । यसका कारण विराटनगरको बजारमा ओपिसी सिमेन्टको मूल्य बोराको ८८० देखि ८९० सम्म पुगेको छ । विराटनगर बजारभन्दा केही टाढाका पसलले ९२० रुपैयाँसम्म लिइरहेका छन् ।
फागुनको अन्तिम सातामा बोराको ५० देखि ६० रुपैयाँले मूल्यवृद्धि गरेका उद्योगले फेरि ३० रुपैयाँले बढाएका हुन् । सिमेन्ट बोराको मूल्य, कोइला, केमिकल, ढुवानीदर, परिवत्र्य विदेशी विनिमय लगायतका सबै आइटमको मूल्यवृद्धि भएकाले यो बृद्धिलाई स्वभाविक रहेको उनीहरुले बताउँदै आएका छन् ।
कोइलामै टनको १ हजार रुपैयाँले वृद्धि भइसकेको छ । डिजलको मूल्यवृद्धि भएपछि चुनाढुंगा ओसार्नेदेखि कारखाना चलाउने र तयारी सिमेन्टको ढुवानी गर्नेसम्मको खर्च बढेको छ । प्याकिङ ब्यागमा २० रुपैयाँ वृद्धि भएको उनीहरु बताउँछन् । सिमेन्टको उत्पादनमा हेभी इक्विपमेन्टको प्रयोग गर्नुपर्ने र यसले डिजलको खपत ठुलो मात्रामा गर्दा लागत धेरै माथि पुगिरहेको दाबी गरे । त्यस्तै यस्ता इक्विपमेन्टमा लाग्ने मोबिलको खर्च पनि ठुलो रहेको स्पष्ट पारे ।
अहिले बढेको मूल्य यदि युद्ध जारी रहे अझ भयावह अवस्था आउनसक्ने चेतावनी उद्योगीहरुले चुनाव अगाडीदेखि नै दिइरहेका छन् । अहिले निर्वाचन सकिएर नयाँ सरकार बन्ने चरणमा रहेको छ । क्लिंकर खरिदमा आधारित सिमेन्टका ग्राइन्डिङ उद्योगले पनि लागतमा भएको वृद्धिले सिमेन्टमा मूल्य बढाउनु परेको जानकारी दिएका छन् ।
क्लिंकरबेस उद्योगीका अनुसार चुनावपछि क्लिंकरमा टनको ७ सय रुपैयाँले बढिसकेको छ । यसबाट एक बोरा सिमेन्टमा ३५ रुपैयाँ सम्मको असर आउँछ । त्यस्तै प्रति गोटा १४ देखि १५ रुपैयाँमा पाइँदै आएको सिमेन्ट बोराको मूल्य २८ देखि ३० रुपैयाँ भइसकेको छ ।