विराटनगरमा ग्यासको माग घट्यो, बजार ठिकठाक हुँदा पनि आधा सिलिन्डरको झमेला

<span class='c1'>विराटनगरमा ग्यासको माग घट्यो, बजार ठिकठाक</span> <span class='c2'>हुँदा पनि आधा सिलिन्डरको झमेला</span>

सोनु साह
विराटनगर । केही हप्ता अघि ग्यास अभावका कारण समस्या भोगिरहेका मोरङका उपभोक्ताहरूका लागि अहिले अवस्था सामान्य बन्दै गएको छ। बजारमा ग्यासको सहज आपूर्ति भएपछि ग्यासको माग भने उल्लेखनीय रूपमा घटेको व्यवसायीहरूले बताएका छन्।

ग्यास विक्रेता संघ मोरङका पूर्व अध्यक्ष विकास लालबानीका अनुसार केही समयअघि दैनिक ग्यास माग्ने उपभोक्ताको संख्या उल्लेख्य हुने गरेपनि अहिले त्यो घटेर दैनिक २०–२५ वटामा सीमित भएको छ। “अहिले ग्यास बिक्रीमा निकै गिरावट आएको छ, हामी ठेला, सिटी र गाडीमार्फत टोल–टोलमा पुगेर पनि बिक्री गर्न बाध्य भएका छौं,” उनले भने।

उनका अनुसार अहिले आपूर्ति पक्षमा कुनै समस्या छैन र माथिबाट मागअनुसार ग्यास आइरहेको छ। यद्यपी, केही उपभोक्ताहरू अझै पनि पूर्ण भरिएको सिलिण्डरको पर्खाइमा रहेको र पसलमा आएर सोधपुछ गर्ने गरेको उनले बताए। नेपाल आयल निगमले पनि एक उपभोक्तालाई १५ दिनपछि मात्र ग्यास उपलब्ध गराउन आग्रह गरेको सूचना आएको उनले जानकारी दिए।

यस्तै, विराटनगरको महेन्द्र चोकस्थित ग्यास व्यवसायी शंकर शर्माले पनि अहिले अवस्था सामान्य रहेको बताए। “पहिला दैनिक २५ वटा जति सिलिण्डर बिक्री हुन्थ्यो, अहिले १५ वटाको हाराहारीमा मात्र बिक्री भइरहेको छ,” उनले भने। उपभोक्ताहरूले अझै पनि पूर्ण भरिएको सिलिण्डरको माग गरिरहेको उनले बताए।

गोल्छा चोकका ग्यास पसल सञ्चालक सिशान्त कुमार साहका अनुसार केही समयअघि अन्तर्राष्ट्रिय द्वन्द्वका कारण ग्यासको मूल्य बढेपछि बजारमा त्रास सिर्जना भएको थियो। “मानिसहरूले ग्यास अभाव हुने डरले एकैपटक दुईदेखि पाँचवटा सिलिण्डरसम्म घरमा राख्न थालेका थिए, जसले गर्दा बजारमा अभाव देखिएको थियो,” उनले भने। पछि नेपाल आयल निगमले आधा ग्यास वितरण गर्ने निर्णय गरेपछि बजारमा थप समस्या देखिएको भए पनि अहिले अवस्था पूर्ण रूपमा सामान्य बनेको साहको भनाइ छ। “अहिले बजारमा पर्याप्त ग्यास छ, उपभोक्ताको मागअनुसार आपूर्ति गर्न सकिन्छ,” उनले भने।

हाल सर्वसाधारणलाई ग्याससम्बन्धी कुनै समस्या नरहेको र बजारमा आपूर्ति सहज भइसकेको व्यवसायीहरूको भनाइ छ। तर, माग घटेसँगै ग्यास व्यवसायीहरू भने बिक्रीमा कमी आएको भन्दै चिन्तित बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्