विराटनगर । चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङ जिल्लाबाट १८ हजार १ सय ७५ जना विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई मोरङ, परीक्षा शाखाका अधिकृत राजन भट्टराईका अनुसार परीक्षासम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ। जिल्लाभर कुल ६१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ, जहाँ सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्।
यस वर्ष नियमिततर्फ १७ हजार २ सय ४६ जना परीक्षार्थी रहेका छन् भने ग्रेडवृद्धितर्फ ९ सय २९ जना सहभागी हुने जनाइएको छ। प्राविधिक धारतर्फका विद्यार्थीका लागि २ वटा छुट्टै परीक्षा केन्द्र तोकिएको छ।लिङ्गगत आधारमा हेर्दा छात्रतर्फ ९ हजार ५ जना र छात्रातर्फ ९ हजार १ सय ७० जना विद्यार्थी सहभागी हुने भएका छन्। त्यस्तै, सामुदायिक विद्यालयबाट ११ हजार ४२ जना र संस्थागत विद्यालयबाट ७ हजार १ सय ३३ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
जिल्लामा कुल ३ सय ९९ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। तीमध्ये १ सय ७३ सामुदायिक विद्यालय र २ सय २६ संस्थागत विद्यालय रहेका छन्।परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक जनशक्ति परिचालन, सुरक्षा व्यवस्था तथा अनुगमनको तयारी पूरा भइसकेको अधिकृत भट्टराईले जानकारी दिए।गत वर्ष २०८१ मा मोरङबाट १८ हजार १ सय विद्यार्थी एसईईमा सहभागी भएका थिए भने कुल ७० वटा परीक्षा केन्द्र रहेका थिए। यस वर्ष परीक्षा केन्द्रको संख्या घटाएर ६१ कायम गरिएको छ। यस वर्ष पनि मोरङमा एसईई परीक्षा विगतझैं व्यवस्थित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।