परीक्षा केन्द्रमै प्रचार, परीक्षा दिइरहेका विद्यार्थी प्रभावित

<span class='c1'>परीक्षा केन्द्रमै प्रचार, परीक्षा</span> <span class='c2'>दिइरहेका विद्यार्थी प्रभावित</span>

काठमाडौं । हाल देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ र विद्यार्थीहरू परीक्षामा व्यस्त छन् । परीक्षाको आज तेस्रो दिन हो । तर, यसबीच केही निजी विद्यालय तथा कलेजहरूले भने परीक्षाकेन्द्र बाहिरै आक्रामक प्रचार–प्रसार थालेका छन् ।

विशेषगरी बानेश्वरमा अवस्थित नोबेल एकेडेमीले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको मूल गेटअगाडि नै बसेर आफ्ना शैक्षिक कार्यक्रमहरूको प्रचार गर्दै विद्यार्थीहरूको हातमा पर्चा वितरण गरिरहेको पाइएको छ । पर्चा वितरणमा स्कूल युनिफर्मकै विद्यार्थीहरु प्रयोग गरेको पाइएको छ । परीक्षा दिई फर्किरहेका विद्यार्थीहरूलाई बाटोमै रोकेर विज्ञापन सामग्री थमाइँदा उनीहरूको ध्यान विचलित हुने र आगामी परीक्षाको तयारीमा समेत असर पर्ने अभिभावकहरुको गुनासो छ । परीक्षा जारी रहेकै अवस्थामा यसरी हतारमा गरिएको प्रचारप्रसारले विद्यार्थीहरूलाई अनावश्यक दबाब सिर्जना गर्नुका साथै उनीहरूको संवेदनशील अवस्थाको दुरुपयोग गरिएको देखिन्छ । शिक्षालाई व्यवसायीकरण गर्ने होडमा नोबेल एकेडेमीले विद्यार्थीको मनोविज्ञान र परीक्षाको मर्यादालाई बेवास्ता गरेको देखिन्छ । परीक्षा दिइरहेका विद्यार्थीहरू पहिले नै दबाबमा हुन्छन् । तर यसरी परीक्षा केन्द्रकै गेटमा आक्रामक प्रचार–प्रसार गर्दा गेटमै विज्ञापन थमाइँदा उनीहरूमा थप तनाव र चिन्ता बढ्न सक्ने अनुमान गरिन्छ । परीक्षाकेन्द्र आसपास शान्त र व्यवस्थित वातावरण हुनुपर्नेमा यस्तो गतिविधिले परीक्षाको गरिमा र अनुशासनमा असर पर्ने विद्यार्थीहरुको भनाइ छ ।

नतिजा नै नआइसकेको अवस्थामा विद्यार्थीहरूलाई लक्षित गरेर आक्रामक मार्केटिङ गर्नु उनीहरूको संवेदनशील अवस्थाको फाइदा उठाएको अनुमान गरिएको छ । शैक्षिक संस्थाहरूबीच स्वस्थ्य प्रतिस्पर्धा हुनुको सट्टा यसले आक्रामक र अनैतिक प्रतिस्पर्धालाई बढावा दिने साथै यस्ता प्रचारले अभिभावकहरूमा पनि अनावश्यक दबाब र भ्रम सिर्जना गर्ने गुनासो बढेको छ । यस विषयमा नेपाल न्यूज बैंकले नोबेल एकेडेमीको प्रशासन शाखालाई समेत फोन मार्फत जानकारी लिएको थियो । उक्त प्रशासनका केशब बहादुर बोहोराले यस विषयमा आफूहरुलाई जानकारी नभएको बताए । उनले उक्त विषयमा मार्केटिङ डिपार्टसँग बुझेर मात्र प्रतिक्रिया दिनसक्ने बताए ।
उनले भने, ‘खोइ, मलाई त यस विषयमा जानकारी छैन । यस विषयमा मार्केटिङ डिपार्टसँग जानकारी लिनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्