काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदन भण्डारीले अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सरकारलाई आग्रह गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङले हालै काभ्रे पुगेर अवैध खानी र क्रसर बन्द गर्न दिएको निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हिजो भर्खर गृहमन्त्री काभ्रे गएर अवैध खानी र क्रसरहरुलाई बन्द गर्न निर्देशन दिनुभयो । यसलाई सम्बन्धित निकायहरुले कडाइका साथ कार्यान्वयन गर्न आवश्यक छ । त्यसका लागि म जोडदार रुपमा आग्रह गर्दछु ।’ त्यसैगरी, खानी तथा खनिज उद्योग सञ्चालनका लागि अनुमति दिने विभिन्न विभाग, कार्यालय र स्थानीय तहहरू जिम्मेवार रहेको उल्लेख गर्दै उनले सबै निकायले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए ।
उनले समयसापेक्ष अनुगमन, नियमन तथा नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । ‘विभिन्न खानी र खनिज उद्योग सञ्चालन गर्न अनुमति प्रदान गर्न विभिन्न विभाग, कार्यलय तथा पालिकाहरु जिम्मेवार रहेकोले हरेक जिम्मेवार निकाय आ–आफ्नो जिम्मेवारी वहन गरि समय सापेक्ष अनुगमन एव्म नियमन तथा नियन्त्रण गर्न यो सदन मार्फत जोडदार माग गर्दछु,’ उनले भने ।