काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति आपत्ति जनाएका छन् ।
उनले अर्को पार्टीलाई समर्थन गरेर सभापति लामिछानेले आफूलाई फोन गरेकोप्रति आपत्ति जनाएका हुन् । बिहीबार उपसभामुखको उम्मेदवारी दर्तापछि उनले सभापति लामिछानेले आफै फोन गरेर ‘हाम्रो समर्थन छ, उम्मेदवारी दर्ता गराउनुस् है’ भनेपछि बल्ल आफूहरुले दर्ता गराएको जानकारी दिए । उनले भने,‘रास्वपाका सभापतिले स्वयंम फोन गरेपछि हामीले उम्मेदवारी दिएका हौं । सबै प्रतिपक्ष एक भएपछि गरेको यस्तो निर्णयमा पुगेका हौं । राजनीतिमा तल माथि त भइहाल्छ ।
स्वयंम सभापतिले फोन गरेर उम्मेदवारी दर्ता गराउनुहोस् है हाम्रो समर्थन छ भनेपछि दर्ता गराएका छौं । अर्को पार्टीलाई समर्थन गर्ने भए सभापति लामिछानेले किन फोन गरेको ? यता रास्वपाले भने आफ्नो समर्थन श्रम संस्कृति पार्टीलाई गर्ने घोषणा गरेको छ ।