विराटनगर । कोशी प्रदेश सरकारले ४० अर्ब बराबरको बजेट सोमबार प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आकार बढाएर बजेट पेस गर्ने तयारी गरिएको हो । अपराह्न ४ बजे संसद्को बैठकमा आर्थिक मामिलामन्त्री बिदुर लिङ्थेपले बजेट पेस गर्ने कार्यसूची तयार भएको छ ।
प्रदेश सरकारले ल्याउन लागेको बजेटमा स्रोतको व्यवस्थापन कमजोर देखिन्छ । चालु आर्थिक वर्षका लागि सुरूमा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेर ल्याएको बजेटको मध्यावधी समिक्षामा संशोधन गर्नु परेको थियो । मध्यावधि मूल्यांकनमा खर्च गर्ने क्षमता र स्रोत संकलनको नाममा संशोधन गरेर ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारिएको थियो ।
आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त हुने साढे १६ अर्ब रुपैयाँको अनुदान, राजस्व बाँडफाँटको हिस्साबापत आउने १३ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । यो अनुमान अनुसार २९ अर्ब हुन्छ । त्यस बाहेक प्रदेशको आफ्नै आन्तरिक राजस्व र संचित कोषमा बाँकी रहेको रकमलाई मुख्य स्रोत मानेर बजेटको आकार वृद्धि गर्ने तयारी गरिएको छ । प्रदेशको आन्तरिक आय चानचुन पाँच अर्ब हाराहारी छ । यो समेत गर्दा ३४ अर्ब हुन्छ । यस बाहेक ६ अर्बको स्रोत संचित कोषमा मात्रै भर पर्ने स्थिति छैन । त्यसैले स्रोतको व्यवस्थापन नगरी खर्च शिर्षक थप्ने तयारीमा सरकार देखिन्छ । अन्य क्षेत्रमा बजेट खर्च भए वा नभएपनि सांसदहरुलाई पैसा दिएर चुनावको मुखमा रजगज गर्ने योजना बनाएको अनुमान धेरैले लगाएका छन् ।
कोशी प्रदेश सरकारले यसपटक सांसद विकास कोषमा ठूलो रकम विनियोजन गर्दैछ। यस वर्ष प्रदेश सांसदले आफ्नो निर्वाचन क्षेत्रमा लैजान पाउने विकास कार्यक्रमहरूको बजेट सीमामा समेत बढोत्तरी गरिएको छ। नयाँ व्यवस्थाअनुसार सरकारले प्रत्यक्ष निर्वाचित सांसदका लागि चार करोड रुपैयाँ र समानुपातिक प्रणालीबाट आएका सांसदका लागि दुई करोड ५० लाख रुपैयाँ बराबरका योजनाहरू बजेटमा समेटिने स्रोतको भनाइ छ। नयाँ बजेटमा सरकारले करिब ५ अर्ब बराबरका नयाँ बहुवर्षीय आयोजना थप पनि गर्ने तयारी गरेको छ ।