विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भएको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ को उपाधि अरनिको स्कुलले दोहोरो रूपमा आफ्नो कब्जामा पारेको छ । एभरेस्ट कलेज, विराटनगर-५ को बास्केटबल कोर्टमा भदौ ३० गते सम्पन्न ग्रान्ड फाइनलमा अरनिको स्कुलले छात्र तथा छात्रा दुवै विधातर्फ साविक विजेता बीकेभीएम स्कुललाई पराजित गर्दै ऐतिहासिक दोहोरो स्वर्ण हात पारेको हो।
अत्यन्तै रोमाञ्चक बनेको छात्रातर्फको फाइनल खेलमा अरनिको स्कुलले बीकेभीएमलाई ५२–३८ अङ्कको अन्तरले पराजित गर्दै उपाधि चुम्यो। यस्तै, छात्रतर्फको फाइनल प्रतिस्पर्धामा अरनिको स्कुलले उत्कृष्ट आक्रामक खेल प्रदर्शन गर्दै बीकेभीएममाथि ८७–४१ अङ्कको फराकिलो जित दर्ता गर्यो। दुवै विधामा बीकेभीएम स्कुल उपविजेता बन्न पुग्यो। यसअघि सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा छात्रतर्फ सगरमाथा स्कुल र छात्रातर्फ एभरेस्ट स्कुल विजयी भई तेस्रो स्थान हासिल गरेका थिए।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधातर्फ पुरस्कृत गरियो। अरनिको स्कुललाई दोहोरो च्याम्पियन बनाउन निर्णायक भूमिका खेलेका आलोक यादव (छात्रतर्फ) र आवृति भण्डारी (छात्रातर्फ) प्रतियोगिताको 'मोस्ट भ्यालुएबल प्लेयर' घोषित भए। 'एमभीपी' विजेताहरूलाई एक्सट्रिम इनर्जी ड्रिङ्क्स , अर्बन स्पोर्ट्स , विराट स्पोर्ट्स जोन र एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज का तर्फबाट आकर्षक उपहार ह्याम्पर्स प्रदान गरियो।
यस्तै, विधागत पुरस्कारअन्तर्गत 'इमरजिङ प्लेयर' को उपाधि छात्रतर्फ अरनिको स्कुलका आसिफ अली र छात्रातर्फ सेन्ट जोसेफ्सकी मानवी राजवंशीले प्राप्त गरे। रक्षात्मक क्षेत्रमा उत्कृष्ट योगदान दिने 'डिफेन्सिभ प्लेयर' तर्फ छात्रमा अरनिकोका अर्णव कटवाल र छात्रामा एभरेस्टकी अन्वेषा श्रेष्ठ चुनिए। लिगमा उत्कृष्ट रणनीतिक नेतृत्व र मार्गदर्शन प्रदान गर्दै छात्रतर्फ अरनिको स्कुलका दिपेश कटवाल र छात्रातर्फ बीकेभीएम स्कुलका बर्दन कुमार साह 'कोच अफ दि लिग' घोषित हुनुभएको छ।

विजयी टोली तथा उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव श्री विप्लव घोष र विशेष अतिथि श्री शिवदल गणका गणपति लेफ्टिनेन्ट कर्नेल अनिल बस्नेतले च्याम्पियन ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो।
पुरस्कार तथा ट्रफी वितरण समारोहमा विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईँ, न्युरो कार्डियो मल्टिस्पेसियालिटी हस्पिटलका आउटरिच अधिकृत दिपेश पोखरेल, एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका निर्देशक अनुभव दाहाल, मोरङ बास्केटबल सङ्घका सचिव त्रिलोक बास्तोला, ओबी मिडियाका अध्यक्ष विवेक दाहाल र विराटनगर बास्केटबल एकेडेमी (बीबीए) का अध्यक्ष सरोज लम्साल लगायतका अतिथिहरूले खेलाडीहरूलाई ट्रफी, पदक तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।
गत साउन २७ गतेदेखि सुरु भएको ५६ भन्दा बढी म्याचको बहुहप्ता ‘होम एण्ड अवे’ लिगमा ३०० भन्दा बढी विद्यार्थी-खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रम संयोजक मुकेश यादवका अनुसार प्रतियोगिताले ग्रास रुटबाटै बास्केटबल खेलको विकास र उदीयमान युवा खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।