विराटनगर । अप्पन विराटगढ परोपकार समाजको आयोजनामा विराटनगरमा १५औँ महान् अन्तर्राष्ट्रिय जितिया पर्व समारोह–२०८३ तथा नेपाल–भारत मैत्री मिथिला सांस्कृतिक महोत्सव सम्पन्न भएको छ। जितिया पर्वको धार्मिक आस्था, मौलिकता र सांस्कृतिक महत्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको समाजका सल्लाहकार राजेश झाले जानकारी दिए। महोत्सवमा मैथिली भाषा, साहित्य, लोककला, लोकगीत, लोकनृत्य, भेषभूषा, खानपान तथा मौलिक परम्पराको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणमा जोड दिइएको थियो।
नेपाल र भारतमा रहेका मिथिला समुदायबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी मैत्री र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल तथा भारतका मैथिली समाजका प्रतिनिधि, कलाकार, साहित्यकार, संस्कृतिकर्मी, समाजसेवी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।


महोत्सवमा सांस्कृतिक गीत तथा नृत्यसहित मिथिलाको कला, संस्कृति र परम्पराको प्रदर्शन गरिएको थियो। मिथिला चित्रकला, हस्तकला, परम्परागत पहिरन, गरगहना तथा स्थानीय खानाका परिकारको प्रचार–प्रसारमार्फत सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसमेत आयोजकले लिएको छ। त्यस्तै, बालविवाह, दाइजो प्रथा र घरेलु हिंसाजस्ता सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गर्दै महिला सशक्तीकरण, नेतृत्व विकास र सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने विषयलाई पनि महोत्सवमा प्राथमिकता दिइएको थियो।

आयोजकले जितिया पर्वलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी महिला सम्मान, पारिवारिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्य रहेको जनाएको छ। यसैगरी मैथिली भाषालाई कोशी प्रदेशमा कामकाजी भाषाका रूपमा कार्यान्वयन गर्न तथा आधारभूत शिक्षाको पाठ्यक्रममा मैथिली भाषालाई समावेश गर्न पहल गर्ने उद्देश्यसमेत महोत्सवमार्फत अघि सारिएको छ।