विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नगर तथा क्षेत्रीय अधिवेशन चलिरहेका बेला मोरङमा विवाद र झडपका घटना देखिएका छन् । मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनअन्तर्गत बुधबार सुन्दरहरैँचामा भएको मनोनयन प्रक्रियाका क्रममा क्रियाशील सदस्यताको विषयलाई लिएर दुई पक्षबीच हातपात र तोडफोड भएको हो ।
अधिवेशनको औपचारिक कार्यक्रम सुरु हुनुअघि नै विवाद उग्र बनेपछि भएको झडपमा नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का कार्यवाहक सभापति चुमनारायण तबदार, नेता चेतराज रेग्मी, जेन्जी युवा तथा महाधिवेशन प्रतिनिधी समुन्द्र पोखरेल लगायतका कार्यकर्ता घाइते भएका छन् । घाइतेहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । कांग्रेसकी सहमहामन्त्री डा डिला संग्रौलामाथिसमेत हातपात भएको बताइएको छ । बुधबार क्षेत्रीय अधिवेशनका लागि मनोनयन गर्ने कार्यसूची थियो । तर, क्रियाशील सदस्यता तथा वडा तहमा अनलाइन फाराम भर्ने विषयमा देखिएको विवादका कारण अधिवेशनस्थलमा तनाव बढेको थियो । विवाद बढ्दै गएपछि हातपातसँगै अधिवेशनस्थलमा तोडफोडसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । मोरङ–६ कांग्रेस नेता डा। शेखर कोइरालाको निर्वाचन क्षेत्र हो । पछिल्लो समय उनी कांग्रेसको महाधिवेशन प्रक्रियाबाट अलग रहेको अवस्थामा क्षेत्रीय अधिवेशनमा देखिएको विवादलाई लिएर कांग्रेसभित्रै आरोप–प्रत्यारोप सुरु भएको छ । संस्थापन पक्षले अधिवेशन बिथोल्न कोइरालानिकट कार्यकर्ता सक्रिय भएको दाबी गरेको छ । यसअघि क्षेत्रीय सभापतिको जिम्मेवारीमा कोइरालानिकट नेता देवराज तामाङ रहेकोमा केन्द्रीय नेतृत्वसँगको असहयोगपछि अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पूर्वसांसद चुमनारायण तबदारलाई दिइएको बताइएको छ ।
बुधबार अधिवेशनस्थलमा तामाङ पनि उपस्थित थिए । तर, तामाङले भने अधिवेशन सुरु हुनुअघि नै असन्तुष्ट पक्षबाट तोडफोड भएको दाबी गर्दै तोडफोड गर्नेहरू आफू निकट रहेको भन्ने आरोप अस्वीकार गरेका छन् । मोरङ–६ मा क्रियाशील सदस्यता वितरण तथा अनलाइन फाराम भर्ने प्रक्रियादेखि नै विवाद रहँदै आएको थियो । यही विवादका कारण यसअघि वडा अधिवेशनसमेत निर्धारित समयमा सम्पन्न हुन नसकेको बताइएको छ । मोरङमा क्षेत्रीय अधिवेशनकै क्रममा विवाद भएको यो पहिलो घटना भने होइन । यसअघि मंगलबार मोरङ क्षेत्र नम्बर १ को लेटाङमा भएको अधिवेशनका क्रममा मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बू र उम्मेदवार देवराज चाम्लिङ पक्षबीच पनि हात हालाहालको अवस्था सिर्जना भएको थियो ।
यता विराटनगर महानगरपालिकाको नगर अधिवेशन भने बुधबार बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान प्रक्रियासहित सञ्चालन भइरहेको छ । त्यहाँ नेता तथा कार्यकर्ताहरू उत्साहका साथ निर्वाचन प्रक्रियामा सहभागी भइरहेका छन् । कांग्रेसजस्तो लामो लोकतान्त्रिक अभ्यास बोकेको राजनीतिक दलको आन्तरिक अधिवेशनमा विचार, बहस र प्रतिस्पर्धाको ठाउँमा हातपात तथा तोडफोडका घटना देखिनु पार्टीको संगठनात्मक संस्कारका लागि चुनौतीको विषय बनेको छ । नेतृत्व चयनमा मतभेद र प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नु आवश्यक देखिन्छ ।