विराटनगर । विराटनगरमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन आगामी २७ र २८ गते हुने भएपछि महानगरपालिकालाई सरसफाईमा जुटेको छ । संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गर्दै समाधानका उपाय खोज्न सातै प्रदेशका मुख्यमन्त्री विराटनगर आउने भएपछि कोशी प्रदेशको एकमात्रै महानगरपालिका भने सरसफाईमा जुटेको हो ।
यस अगाडी असोज २२ र २३ गते नै सम्मेलन गर्ने भनिएको थियो । तर, कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बिहीबारको बैठकले मुख्यमन्त्री सम्मेलनको मिति असोज २७ र २८ गते विराटनगरमा गर्ने निर्णय गरेको हो।
सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता हुनेछ । प्रदेशहरूबीच समन्वयको स्थायी आधार तयार गर्ने उद्देश्य तथा संघीयताको मुद्दा बोकेर आयोजना गर्न लागिएको सम्मेलनमा संघीयता कार्यान्वयनका चुनौती, प्रदेशहरूले गरेका असल अभ्यास, संघ र स्थानीय तहसँगको समन्वय तथा कानुनी जटिलताका विषयमा छलफल हुनेछ ।
अन्य प्रदेशका मुख्यमन्त्रीहरुलाई अथितिको रुपमा विराटनगरमा स्वागत गर्नका लागि स्थानीय सरकारले समेत आफ्नो जिम्मेवारीमा परेको भूमिका निवाह सुरु गरेको छ । त्यस अन्तर्गत अहिले सरसफाईदेखि केहि प्राविधिक त्रुटीहरुलाई मिलाउन काम भइरहेको हो । शनिबार कोशी राजमार्ज अन्तर्गत बरगाछी–रानी डिभाइडरको झारजंगल उलेख्न सुरु गरिएको छ । त्यस बाहेक अहिले जनलगाएर पनि सरसफाई थालिएको छ । कोशी राजमार्गको मेडियनको बिरुवा संरक्षण गर्न माली राखिएको छ । तर, दुईजनाले मात्रै झारजंगल एकैपटक हटाउन नसक्ने भएपछि महानगरपालिकाले सक्रिय युवाहरुको सहभागितामा शनिबारदेखि सरसफाई अभियान सुरु समेत गरेको छ । महानगरपालिका सरसफाई शाखाका किरण न्यौपानेका अनुसार रोडशेषदेखि दक्षिण दैनिक ज्यालादारीमा जन लगाएर पनि सफा पार्ने काम धमाधम भइरहेको छ ।