विराटनगर असोज १९ ,
विपद्को चुनौतीबीच प्रधानमन्त्री बालेन्द्र शाह र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की एउटै टेबलमा बसेर विपद् व्यवस्थापनबारे छलफल गरेका छन्। सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाह र मुख्यमन्त्री कार्की सहभागी भएका हुन्।
बैठकमा कोशीसँगै गण्डकी, बागमती र मधेश प्रदेशका मुख्यमन्त्रीहरूको पनि सहभागिता थियो।
बैठकमा प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भदौ १० गतेयताका विपद् व्यवस्थापनका काम निरन्तर भइरहेको बताएका छन्। उपलब्ध स्रोत, साधन र जनशक्ति अधिकतम परिचालन गरेर जतिसक्दो चाँडो विपद् व्यवस्थापनको काम सम्पन्न गर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायतका क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षतिको अध्ययनसहित व्यवस्थापन र पुनर्निर्माणका काम अघि बढिरहेको जानकारी दिए।
विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली थप सुदृढ गर्ने तथा हिमपहिरोको जोखिम घटाउन आवश्यक काम अघि बढाउने विषयमा पनि प्रधानमन्त्री शाहले बैठकमा जानकारी गराएका छन्।
विपद् व्यवस्थापनमा ज्यान जोखिममा राखेर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिप्रति प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गरेका छन्।
बाढीपहिरोपछि उद्धार, राहत र पुनःस्थापनाको चुनौतीबीच संघदेखि प्रदेशसम्मका सरकारका प्रमुखहरू एउटै बैठकमा बसेर आगामी व्यवस्थापनको रणनीतिबारे छलफल गरेका हुन्।