काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३, १४ र १५ गते ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फिल्म महोत्सवमार्फत नेपाली चलचित्र क्षेत्रको प्रवद्र्धन, स्थानीय कलाकारको सम्मान तथा काठमाडौंसहित देशभरका कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उद्देश्य राखिएको बताएकी छन् । उनले भनिन्, ‘काठमाडौँ महानगरपालिकाले फिल्म फेस्टिभल आउँदो कार्तिकको १३, १४ र १५ गते गर्दैछ । काठमाडौँको विभिन्न ठाउँमा तीन दिन कार्यक्रम गर्दैछौं ।’ काठमाडौं फिल्म फेस्टिभलबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै डंगोलले तीन दिनसम्म काठमाडौंका विभिन्न स्थानमा फरक–फरक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । महोत्सवको पहिलो दिन खुला स्थानमा चलचित्र प्रदर्शन (ओपन एयर स्क्रिनिङ), सम्पदा पदयात्रा तथा काठमाडौंको मौलिक संस्कृति झल्किने कार्यक्रम आयोजना गरिनेछ ।
चलचित्र हेर्न सँधै हलमै जानुपर्छ भन्ने मान्यतालाई परिवर्तन गर्दै समुदाय र टोलटोलसम्म चलचित्र पुर्याउने उद्देश्यले खुला स्थानमा चलचित्र प्रदर्शन गर्न लागिएको उनले बताइन् । यसअघि पनि महानगरपालिकाले विभिन्न टोलमा पुगेर चलचित्र प्रदर्शन गरेको उनले स्मरण गरिन् । महोत्सवको दोस्रो दिन नेपाली चलचित्र क्षेत्रलाई समर्पित गरिनेछ । उक्त दिन पुराना तथा नयाँ कलाकारलाई सम्मान र प्रोत्साहन गर्दै नेपाली चलचित्र तथा सिर्जनात्मक उद्योगमा योगदान पुर्याउने व्यक्तिहरूको कामको उत्सव मनाइने डंगोलले बताइन् । तेस्रो दिन बौद्ध क्षेत्रमा भ्रमण, धन्यवाद ज्ञापन कार्यक्रम तथा चलचित्र प्रदर्शन गरिने कार्यक्रम रहेको उनले जानकारी दिइन् । डंगोलले काठमाडौंलाई देशको राजधानीसँगै सिर्जनात्मक गतिविधि र चलचित्र निर्माणको महत्त्वपूर्ण केन्द्रका रूपमा व्याख्या गरिन् ।
नेपाली चलचित्रको छायाङ्कन देशका विभिन्न स्थानमा हुने भए पनि अधिकांश निर्माणसम्बन्धी काम काठमाडौंमै हुने गरेको उनको भनाइ थियो । ‘काठमाडौं युनेस्को क्रिएटिभ सिटी अफ फिल्म’ का रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै उनले चलचित्रलाई सहरको कला, संस्कृति, सम्पदा, भाषा, साहित्य, संगीत, खानपान र मौलिक पहिचान विश्वसामु प्रस्तुत गर्ने प्रभावकारी माध्यमका रूपमा लिनुपर्ने बताइन् ।
उनका अनुसार काठमाडौंका मन्दिर, रानीपोखरी, खुलामञ्च, भाटभटेनी, पशुपति, बौद्ध, स्वयम्भू र तीनकुनेलगायत स्थानका आफ्नै ऐतिहासिक तथा सांस्कृतिक कथा छन् । ती कथा चलचित्रमार्फत विश्वसामु पुर्याउन सकिने भएकाले महानगरपालिकाले फिल्म महोत्सवलाई प्राथमिकता दिएको उनले स्पष्ट पारिन् । महोत्सव काठमाडौंमा मात्र सीमित नरहने उल्लेख गर्दै डंगोलले देशका विभिन्न क्षेत्रका संस्कृति र कथालाई समेत समेटेर चलचित्र छनोट गरिएको बताइन् । ‘माइ कल्चर, माइ हेरिटेज’ अवधारणाअन्तर्गत देशभरका मौलिक कथा, कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको उनको भनाइ थियो । महोत्सवमा स्थानीय कलाकार, परम्परागत बाजा बजाउने समूह, नृत्यकर्मी तथा समुदायको सहभागितालाई प्राथमिकता दिइनेछ । स्थानीय खानपान र सांस्कृतिक गतिविधिलाई समेत प्रवद्र्धन गरिने उनले बताइन् । डंगोलले काठमाडौं महानगरपालिकाले सिर्जनात्मक उद्योगको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग जोड्ने प्रयास भइरहेको बताइन् । चलचित्र क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थी तथा युवालाई लक्षित गरी मास्टर क्लास, कार्यशाला र अन्य शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरिने उनले जानकारी दिइन् । कार्यक्रममा कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन योगदान पुर्याएको चलचित्र ‘एलिफेन्ट इन द फग’ को प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ । यसबाट चलचित्र निर्माणमा रुचि राख्ने विद्यार्थी तथा युवाले अनुभव आदानप्रदान र प्रेरणा प्राप्त गर्ने अपेक्षा गरिएको डंगोलले बताइन् । उनले काठमाडौं फिल्म फेस्टिभललाई सफल बनाउन सञ्चारमाध्यम, स्थानीय समुदाय, कलाकार तथा चलचित्र क्षेत्रसँग सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै महोत्सवको प्रचारप्रसार र सिर्जनात्मक क्षेत्रको प्रवद्र्धनमा हातेमालो गर्न आग्रह गरिन् ।