विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएसँगै विराटनगरको पुरानो गुद्री बजारमा पनि क्रिकेटको रौनक छाएको छ। काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेल विराटनगरको पुरानो गुद्रीस्थित मैदानमा ठूलो एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिएपछि क्रिकेटप्रेमी दर्शकको भीड लागेको छ।
क्रिकेटप्रेमीलाई आफ्नै सहरको सार्वजनिक स्थलमा बसेर निःशुल्क एनपीएलका खेल हेर्ने अवसर ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’ले जुटाएको हो। देशव्यापी रूपमा क्रिकेटको माहोल सिर्जना गर्ने उद्देश्यले कम्पनीले देशका १० प्रमुख सहरका सार्वजनिक स्थानमा खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जनाएको छ।

एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको प्रतिस्पर्धा प्रत्यक्ष हेर्न विराटनगरको पुरानो गुद्रीमा युवादेखि पाका उमेरसम्मका क्रिकेटप्रेमी पुगेका थिए। घरको टेलिभिजनमा एक्लै खेल हेर्नुभन्दा साथीभाइ र अन्य समर्थकसँग खुला आकाशमुनि बसेर सामूहिक रूपमा खेल हेर्नुको मज्जा नै बेग्लै हुने दर्शकहरूको भनाइ छ।
खेलको प्रत्यक्ष अनुभूति दिलाउन विराटनगरको पुरानो गुद्रीसहित काठमाडौं, पोखरा, चितवन, धनगढी, सुर्खेत, बुटवल र जनकपुरलगायत देशका १० प्रमुख सहरमा यस्तो व्यवस्था मिलाइएको कार्यक्रमका इभेन्ट म्यानेजमेन्ट प्रमुख रामजी पौडेलले जानकारी दिए।
कार्यक्रमस्थलमा यसपटक एनपीएलमा सहभागी सबै टोलीका स्टलसमेत राखिएका छन्। दर्शक तथा सहभागीका लागि ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’सहित विभिन्न खानेकुराका स्टल पनि सञ्चालनमा छन्। पेय पदार्थ तथा खानाका स्टलमा भने शुल्क तिर्नुपर्ने व्यवस्था छ।
सार्वजनिक स्थलमा ठूलो स्क्रिनमार्फत खेल हेर्न पाउँदा विराटनगरका क्रिकेटप्रेमीले एनपीएलको उत्सवलाई सामूहिक रूपमा मनाउने अवसर पाएका छन्। यसले सहरमा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै एनपीएलको माहोललाई थप उत्साहपूर्ण बनाएको छ।