विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ । नेपाल–भारत सीमा क्षेत्रमा हतियारसहित सक्रिय लागूऔषध कारोबारीको समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र कारोबारीबीच झडप भएको हो ।
झडपका क्रममा प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ । तस्कर समूहलाई नियन्त्रणमा लिने क्रममा भएको फायरिङमा एक जना प्रहरी जवानसमेत घाइते भएका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट करिब आधा किलो खैरो हेरोइन, एक थान पेस्तोल र लागूऔषध ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको छ ।

सीमापारिबाट हतियारसहित ठूलो परिमाणमा लागूऔषध भित्रिँदै गरेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोको टोली रतुवामाई पुगेको थियो । प्रहरी टोली घटनास्थलमा पुग्नासाथ कारोबारी समूहले फायरिङ गरेको प्रहरीको दाबी छ ।
कारोबारी समूहले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेको समूहले पूर्वी नेपालका सीमा क्षेत्रलाई ट्रान्जिट बनाएर हतियारको आडमा लागूऔषधको अवैध कारोबार गर्दै आएको प्रारम्भिक अनुमान गरिएको छ ।
घाइते प्रहरी जवानको उपचार भइरहेको छ भने पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।