विराटनगरका गायक सन्देश सुबेदीको नयाँ गीत ‘अलि अलि बोल्दैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। विराटनगरस्थित ह्यापी आवर हेभन रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएको हो।
गीतमा शब्द, संगीत र स्वर स्वयं सन्देश सुबेदीको रहेको छ। गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन्। म्युजिक भिडियोको निर्देशन निश्चल राणाले गरेका हुन् भने छायांकन तथा सम्पादन ऋतिक शाह र एचएस फिल्म्सले गरेका छन्।
भिडियोमा चर्चित भाइरल हुड डान्स टिमसँग सहकार्य गरिएको छ। साहिल खान, मनीष कटुवाल, लक्की खवास, बिक्की घिमिरे र प्रदीप सदालगायत कलाकारको अभिनय रहेको भिडियोमा मोडल ग्रेसी मास्के श्रेष्ठ पनि देखिएकी छन्।
स्थानीय कलाकार, नृत्य समूह र सिर्जनात्मक प्रस्तुतिलाई समेटिएको गीतको भिडियोले दर्शकमाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।
भिडियो सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, संगीतकर्मी तथा कलाकारहरूको उपस्थिति रहेको थियो।