विराटनगर मङ्सिर ०२ ,
नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन नजिकिँदै गर्दा मोरङ जिल्लाको राजनीतिक सरगर्मी बढेको छ। यसै क्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख एवं सक्रिय नेतृ नितु थापा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मोरङ जिल्ला उपसभापति पदका लागि खुला महिला तर्फबाट उम्मेदवारी घोषणा गरेकी छिन्।
“राष्ट्रियता, लोकतन्त्र, समाजवाद नेपाली कांग्रेसको मूल मन्त्र” भन्ने आदर्शलाई आत्मसात् गर्दै उनले समृद्ध, सक्षम र सशक्त कांग्रेस निर्माणका लागि आफ्नो दाबी प्रस्तुत गरेकी हुन्। कोइरालाको उम्मेदवारीको अर्को महत्त्वपूर्ण पक्ष भनेको उनी स्वयं नेपाली कांग्रेसको स्थानीय संगठनमा जिम्मेवारी सम्हालिसकेकी नेतृ हुनु हो; उनी १४औँ महाधिवेशनबाट बेलबारी नगर कार्यसमितिको उपसभापतिमा निर्वाचित भएकी थिइन् र त्यसपछि सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट बेलबारी नगरपालिकाको उपप्रमुखमा विजयी हुँदै उनले कुशल जनप्रतिनिधिका रूपमा जनताको सेवा गर्दै आइरहेकी छिन्।
उम्मेदवारी घोषणासँगै उनले पार्टी संगठनलाई बलियो बनाउने, महिला सहभागितामा अवसर बढाउने, युवा नेतृत्वलाई प्रोत्साहन गर्ने र जनताको विश्वास जोगाउँदै अघि बढ्ने जस्ता प्रमुख प्रतिबद्धताहरू सार्वजनिक गरेकी छिन्। “परिवर्तनका लागि तपाईँको एक मत” भन्ने नारासहित उनी अहिले मोरङ जिल्लाका विभिन्न क्षेत्रका कांग्रेस कार्यकर्ता, महाप्रतिनिधि तथा मतदाताहरूसँगको भेटघाट र अन्तरक्रियामा व्यस्त छिन्।