विराटनगर । विराटनगर महानगरपालिका–४ बनलौरी चोकका ३२ वर्षीय राजन दासको हत्या प्रकरणमा मोरङ प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । मोबाइल चोरीको आरोपमा मृतकसँग विवाद र हत्या गर्ने धम्कीसमेत दिएको खुलेपछि प्रहरीले ४ जनालाई अनुसन्धानको लागि हिरासतमा राखेको छ ।
प्रहरीले शुक्रबार तीन जना र शनिबार थप एक जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका चारै जना २० देखि ३० वर्ष उमेर समूहका रहेको र विराटनगर–४ कै बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनीहरू मृतक दासका छिमेकी तथा साथी रहेको खुलेको छ । अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरीले उनीहरूको पहिचान सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार मोबाइल चोरी गरेको आरोप लगाउँदै उनीहरू दासको घरमै पुगेका थिए । मोबाइल हराएको विषयलाई लिएर उनीहरूले दासलाई हत्या गर्ने धम्कीसम्म दिएको जानकारी परिवारले प्रहरीलाई गराएको छ । यही विवादलाई प्रहरीले हत्याको सम्भावित कारणका रूपमा अनुसन्धान गरिरहेको छ ।
प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिइएका चारै जना लागुऔषध सेवनकर्ता हुन् । उनीहरूमाथि हत्यामा संलग्न रहेको आशंकामा सोधपुछ भइरहेको छ । तर, अहिलेसम्म कसैले पनि घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छैनन् । सोधपुछका क्रममा उनीहरूको बयानसमेत बाझिएको प्रहरी स्रोतले जनाएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले घटनाको अनुसन्धानका क्रममा चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पुष्टि गरे । ‘शंकास्पद चार जनामाथि सोधपुछ र अनुसन्धान अघि बढाइएको छ ।

स्रोतका अनुसार घटनास्थलको अवस्था, मृतकसँगको पुरानो विवाद र अहिलेसम्म संकलन गरिएका प्रमाणका आधारमा प्रहरीले नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान केन्द्रित गरेको छ । शुक्रबार दिउँसो विराटनगर–४ इक्राहीस्थित उखुबारीमा दासको शव फेला परेको थियो । शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनालाई हत्या मानेर अनुसन्धान अघि बढाएको थियो । घटनाको कारण र हत्यामा संलग्न व्यक्तिबारे थप तथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको छ ।