विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१०, खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलको शैक्षिक, प्रशासनिक तथा सेवा–सुविधाका विषयमा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीप्रति विद्यालय प्रशासन तथा शिक्षक–कर्मचारीहरूले आपत्ति जनाएका छन् ।
मङ्सिर ३ गते रुद्र पाण्डे नामको फेसबुक पेजबाट विद्यालयकै कुनै अमुक शिक्षकको नामबाट गुनासो आएको भन्दै सार्वजनिक गरिएको सामग्रीप्रति विद्यालयका शिक्षक–कर्मचारीले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । शिक्षक तथा कर्मचारीहरूले आज जारी गरेको विज्ञप्तिमा निजी संस्थाले आफ्नो क्षमता र योजनाअनुसार कार्य, सेवा तथा सुविधाका नियम बनाउने र प्रवेशकै क्रममा छलफल तथा सहमति हुने भएकाले आफूहरू सन्तुष्ट रहेको जनाइएको छ । विद्यालयमा १० वर्षभन्दा लामो समयदेखि निरन्तर कार्यरत दर्जनौँ शिक्षक–कर्मचारी रहेको तथा समस्या राख्दा सञ्चालक सधैँ सकारात्मक र सहयोगी रहँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तलब–सुविधा, बोनस तथा अन्य कल्याणकारी सुविधा नियमानुसार हुँदै आएकाले कुनै गुनासो नरहेको स्पष्ट पार्दै शिक्षक–कर्मचारीहरूले अमुक व्यक्तिको हवाला दिएर आएको सामग्रीमा कार्यरत कसैको संलग्नता नरहेको र संस्थालाई कमजोर बनाउन बाहिरी चलखेल भएको आशङ्का व्यक्त गरेका छन् । यसैबीच, विद्यालयका प्रिन्सिपलले पनि आज छुट्टै विज्ञप्ति जारी गर्दै विद्यालयको वास्तविक अवस्था, गतिविधि तथा उपलब्धिबारे यथार्थ जानकारी नलिई अपुष्ट सूचना, व्यक्तिगत धारणा र कपोलकल्पित विषयका आधारमा प्रतिष्ठामा आँच पुग्ने गरी प्रचार गरिनु दुःखद भएको जनाएका छन् ।
विज्ञप्तिमा यस्ता गतिविधिले अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा समुदायमा अनावश्यक भ्रम र अविश्वास सिर्जना गर्न सक्ने उल्लेख गरिएको छ । विद्यालय परिवारले सेवा–सुविधा र वृत्तिविकासमा सधैँ संवेदनशील रहेको दाबी गर्दै गलत प्रचारको विपक्षमा उभिएर शतप्रतिशत शिक्षक–कर्मचारीले देखाएको सहमति, सन्तुष्टि र ऐक्यबद्धताप्रति सम्मान व्यक्त गरेको छ ।