विराटनगर । नेपाली कथानक चलचित्र ‘फेरि भेट होला नहोला’ को विराटनगरमा शुभमुहूर्त गरिएको छ। सन्तोष सरकारको लेखन तथा प्रतीक श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको शुभमुहूर्त विराटनगरस्थित बजरंगबली मन्दिरमा गरिएको हो।


पूर्वी नेपालको प्राकृतिक सौन्दर्य, पहाडी जनजीवन र स्थानीय परिवेशलाई कथावस्तुमा समेटेर निर्माण गर्न लागिएको चलचित्रको छायांकन गुफापोखरी, तिन्जुरेलगायतका पर्यटकीय क्षेत्रमा गरिने निर्माण पक्षले जनाएको छ। चलचित्रको छायांकनको जिम्मेवारी सुशील अधिकारी खत्रीले सम्हाल्नेछन्।
चलचित्रमार्फत नयाँ कलाकारलाई नायक तथा नायिकाका रूपमा नेपाली चलचित्र क्षेत्रमा डेब्यु गराउने तयारी गरिएको छ। यद्यपि, मुख्य कलाकारको नाम भने निर्माण पक्षले सार्वजनिक गरेको छैन। चलचित्रमा विकास खनाल, झकेन बीसी, क्रान्ति बराइली, विक्रम गुप्ता, अजय श्रेष्ठ र महेश शाहलगायतका कलाकारको अभिनय रहनेछ।


चलचित्रलाई आगामी फागुन २८ गतेदेखि देशभर प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ। पूर्वी नेपालको प्राकृतिक सुन्दरता, पहाडी परिवेश र स्थानीय कथावस्तुलाई चलचित्रको पर्दामा उतार्न लागिएको यस चलचित्रले नेपाली दर्शकमाझ कस्तो प्रभाव पार्नेछ भन्ने चासो बढेको छ।