दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई १५५ रनको लक्ष्य दिएको छ।
निर्धारित २० ओभरमा एपीएफले ८ विकेट गुमाउँदै १५४ रन बनायो। एपीएफका लागि दीपक बोहराले ४४ बलमा सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले। त्यस्तै सुमित महर्जनले २१ बलमा २८ रन, अमरसिंह रौतेलाले १३ बलमा १६ रन र सन्तोष यादवले ११ बलमा ११ रन जोडे।
कोशी प्रदेशको बलिङतर्फ विपिन कुमार महतोले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। प्रतीक पोख्रेल र सुजन थपलियाले समान २–२ विकेट लिँदा फिरदोस अन्सारीले १ विकेट हात पारे।
कोशी प्रदेश अब १५५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रनेछ।