हामीले विगतमा गरेका गल्तीहरूलाई अब सामान्य भूल वा कमजोरीका रूपमा छुट दिन सक्दैनौँ। एउटै गल्ती बारम्बार दोहोरिनु संयोग होइन, त्यो स्पष्ट रूपमा नियत वा लापरवाहीको पराकाष्ठा हो। विराटनगरजस्तो ऐतिहासिक, औद्योगिक र राजनीतिक रूपमा सचेत सहर—जहाँ साक्षरता दर करिब ८५ प्रतिशत छ—त्यहाँका मतदाताले अझै पनि उही पुरानो चक्रमा फस्ने छुट पाउनुहुँदैन।
स्थानीय चुनाव नजिकिँदै गर्दा मेयर पदका उम्मेदवारहरूको भीड यसरी देखिन थालेको छ, मानौँ बर्खायाममा परालको टालमा एकाएक च्याउ उम्रिएका हुन्। व्यापारी, शिक्षाविद्, अवकाशप्राप्त कर्मचारी, अभियन्ता, पूर्वमेयर, वकिल, डाक्टर, ठेकेदार, समाजसेवीको आडम्बरमा रहेका गुण्डादेखि लिएर लहर चलेको भन्दै छाप र झन्डाको घमण्ड बोकेका हरेक क्षेत्रका 'हस्ती' भनिनेहरू चुनावको मैदानमा होमिने प्रचारप्रसार सुरु भइसकेको छ। आफ्नो पेसा र कर्म छोडेर पद,कुर्सी र मेयरको ग्ल्यामरअनि तडकभडकतिर लोभिनेहरूको लर्को लागेको छ।
चुनावको मुखमा मात्र देखिने, ठोस कार्ययोजनाबिना नै ठूला आश्वासन बाँड्ने र पदलाई केवल अवसर वा प्रतिष्ठाको माध्यम ठान्ने प्रवृत्तिले लोकतन्त्रको जगलाई कमजोर बनाउँछ, जसले विराटनगर महानगरलाई झनै बर्बाद पार्नेछ।
'धर्मात्मा हुँ', 'धनाढ्य हुँ', 'समाजसेवी हुँ', 'शिक्षाका लागि जीवन दिएँ' जस्ता ट्यागलाइनहरू प्रचार गर्दै आश्वासन बाँड्ने काम चौतारा, भजनमण्डली र चियापसलदेखि सचेत नागरिकको कान भर्ने प्रयाससम्म सुरु भइसकेको छ।सचेत नागरिकको सहरमा उम्मेदवारहरूको यस्तो मौसमी उदय आफैँमा एउटा सोचनीय विषय हो।
के यी उम्मेदवारहरूसँग विराटनगरको दीर्घकालीन विकास, व्यवस्थित सहरीकरण, फोहोर व्यवस्थापन, ढल निकास, भ्रष्टाचार नियन्त्रण र सुशासनको स्पष्ट खाका छ? के सार्वजनिक विद्यालय र अस्पतालको स्तरोन्नति गरेर हामी गरिबहरूले निजी (प्राइभेट) संस्था नधाउनुपर्ने रोडम्याप छ?
आर्थिक वर्ष २०८३/८४ को चालू बजेट ३ अर्ब ६८ करोड छ। विगत पाँच वर्षको बजेट हेर्दा साढे ३ अर्बदेखि ४ अर्बको हाराहारीमा देखिन्छ।
देशका ६ महानगरपालिकामध्ये विराटनगरको बजेट आकार सबैभन्दा सानो छ। प्रत्येक वर्ष बजेटको आकार साढे ३ अर्बदेखि ४ अर्बमाथि रहे पनि आन्तरिक राजस्व संकलन लक्ष्यअनुसार नउठ्नुभन्दा पनि उठाउन नसकेको देखिन्छ र पुँजीगत (विकास) खर्च कमजोर रहने समस्या निरन्तर दोहोरिँदै आएको छ।
त्यसैले 'रातो किताब' देखाउने हात्तीको दाँतजस्तो मात्र बनेको छ। अघिल्लो मेयरलाई दोष दिने माध्यम बनाउँदै जारी गरिने 'श्वेतपत्र' केवल आँखामा छारो हाल्ने पत्र बनेको छ। यस्तो महानगरमा आन्तरिक आम्दानीको स्रोत के हुने हो? उठ्ने उम्मेदवारहरूमा यसको दूरदर्शिता र खाका शून्यप्रायः छ। के मेयरको उम्मेदवार भनेको केवल "भोट आयो र जितेँ भने म यस्तो गर्छु, उस्तो गर्छु" मात्रै भन्ने पद हो? तीतो तर लुकेको सत्य यही हो—कसैसँग पनि दूरदर्शी खाका छैन।
केवल टिकट हात पार्ने, आफूलाई बाहुबली र पैसाको आडमा कुर्सी ओगट्ने अनि मत बटुल्ने हतारो मात्र छ। हामीले पढ्नै नभ्याउने गरी विभिन्न संकल्प र घोषणापत्र सिरानीमुनि राखेर ५ होइन, १० होइन, दशकौँदेखि निदाइरहेका छौँ। अब भने जाग्ने, सपना र बाँडिएका भ्रमहरू चिर्ने समय आएको छ।
८५ प्रतिशत साक्षरता भएको सहरको अर्थ केवल अक्षर चिन्नु वा हस्ताक्षर गर्न जान्नु मात्र होइन; यसको वास्तविक अर्थ राजनीतिक चेतना, प्रश्न गर्ने क्षमता र जवाफदेहिताको माग गर्नु हो। यदि शिक्षित र सचेत भनिएको समाजले पनि भावना, नातावाद, आर्थिक प्रलोभन वा क्षणिक लोकप्रियताका आधारमा मतदान गर्छ भने त्यसको परिणाम भोग्न तयार रहनुपर्छ।
विगतका स्थानीय निर्वाचनहरूले सिकाएको पाठ यही हो कि अनुहार फेरिँदैमा वा नारा चर्को हुँदैमा सहरको अवस्था स्वतः बदलिँदैन। जबसम्म उम्मेदवारको विगतको योगदान, इमानदारी, प्रशासनिक बुझाइ र समस्या समाधान गर्ने दृढताको कठोर मूल्याङ्कन हुँदैन, तबसम्म हरेक चुनावमा नयाँ अनुहारका च्याउहरू उम्रिरहनेछन् र चुनाव सकिएसँगै बिलाउँदै जानेछन्। मतदाताले अब भावुकता होइन, कठोर यथार्थ र तार्किक कसीमा राखेर उम्मेदवार छान्नुपर्ने बेला आएको छ।
विराटनगरले सामना गरिरहेका समस्याहरू कुनै नौला होइनन्, तर तिनको समाधान किन अझै अधुरो छ भन्ने प्रश्नको जवाफ नेतृत्वको इच्छाशक्ति र दूरदर्शितासँग जोडिएको छ। सहरको पूर्वाधार, व्यापारिक गतिशीलता, युवा रोजगारी र पारदर्शी सेवा प्रवाहका लागि केवल घोषणा पत्र होइन, कठोर निर्णय र निरन्तर कार्यान्वयन चाहिन्छ।
चुनावको समयमा परालको टालमा च्याउ उम्रिएझैँ निस्किने उम्मेदवारहरूको लहरले सहरको गम्भीरतालाई हल्का बनाउँछ। यदि मतदाताले अझै पनि उही गल्ती दोहोर्याए—अर्थात् बिना आधार विश्वास गर्ने र पछि गुनासो मात्र गरिरहने—भने त्यो अब गल्ती रहनेछैन, बरु आफ्नै भविष्यप्रति गरिएको जानाजान बेवास्ता ठहरिनेछ।
सचेत सहरले अब मौसमी उम्मेदवार होइन, परिणाममुखी, जवाफदेही र दूरदर्शी नेतृत्व खोज्नुपर्छ; रोजनुपरछ किनकि गल्ती सच्याउने अवसर सधैँ आउँदैन र दोहोरिएको गल्तीको मूल्य सहरले र हामीले नै चुकाउनुपर्छ।