इलामकी अचार दिदी “उषा”

<span class='c1'>इलामकी अचार</span> <span class='c2'>दिदी “उषा”</span>

राजु शिवा
इलाम, मङ्सिर २६ गते ।  ठूलो परिश्रम र लगानीमा अदुवाखेती गरेका इलामका अधिकांश किसान बेच्ने बेलामा अदुवाको भाउ नआउँदा समस्यामा छन् ।
तर, यही अदुवाको भाउ नआउँदा इलाम नगरपालिका–७ धोबीधाराकी उषा निरौला (अचार दिदी)लाई भने झन् फाइदा भइरहेको छ ।  अदुवा र अकबरेको अचार बनाउने उद्योग चलाइरहनुभएकी उषालाई अदुवा–अकबरेको भाउ कम हुँदा व्यवसायमा बढी फाइदा हुन्छ ।  किसानबाट अचारका लागि चाहिने कच्चा पदार्थ अदुवा–अकबरे सस्तोमा पाइँदा बढी नाफा हुने गरेको उहाँ सुनाउनुहुन्छ ।
भाउ नआएकै कारण किसानको अदुवा बारीमै कुहिँदै गरेका बेला उषाको आम्दानी भने बढेको छ ।  अदुवा प्रशोधन गरेर विभिन्न प्रकारका अचारका परिकार बन्ने उषाको घरेलु उद्यमको आम्दानी बर्सेनि बढ्दो छ ।  छ वर्षअघि खुलेको उषाको उद्योगमा अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्वत, सुठो र अचार बन्ने गरेको छ ।  योसँगै उहाँको उद्योगले अकबरे खुर्सानीका विभिन्न प्रकारका अचार उत्पादन गर्ने गरेको छ ।
यो वर्ष अकबरे उत्पादनको सिजनमा भारतको दार्जीलिङमा आन्दोलन चर्कियो ।  जसको फाइदा पनि उषालाई नै भयो ।  नेपालको अकबरे भारतको दार्जीलिङ, मिरिकसम्म पु¥याएर बेच्ने किसानले जिल्लामै प्रशस्त अकबरे बेच्न ल्याएपछि अचार बनाउन सजिलो र लागत सस्तो परेको उहाँले बताउनुभयो ।  उषाको उद्योगमा उत्पादित अचार जिल्ला र जिल्ला बाहिर मात्र होइन विदेशसम्म जाने गरेको छ ।  वर्षमा ४० लाखसम्मको अदुवाको अचारका ‘आइटम’ बेच्नुहुने उषा सहयोगीको तलब, लागत खर्च कटाउँदा वर्षमा १५ लाख जति आम्दानी हुने सुनाउनु हुन्छ ।

आफ्नो उद्योगमा अर्गानिक अदुवा–अकबरे मात्र प्रयोग हुने भएकाले लामो समयसम्म उत्पादन टिक्ने गरेको उहाँ बताउनुहुन्छ ।  उहाँले भन्नुभयो– ‘‘कामका लागि विदेश जाने धेरैले मेरो उद्योगको उत्पादन बोकेर जानुहुन्छ ।  पछि फोन गरेर मैले बनाएका अचारको प्रशंसा गर्नुहुन्छ । ’’ आफूले उत्पादन गरेका परिकार विषादीरहित भएका कारण डेढ वर्षसम्म राख्दा पनि नबिग्रने निरौला सुनाउनुहुन्छ ।
उषाको यही उद्यमले इलाम सदरमुकाममा घर–घडेरी जोडेको छ भने काठमाडौँ बसेर बढ्ने छोरीको खर्च पनि टारेको छ ।  उषाको उद्योगमा मासिक १० क्विन्टल जति अदुवाको विभिन्न अचारका परिकार बन्छन् ।  आफू एकल महिला रहेको र व्यवसाय सुरु गर्दाताका धेरैले हतोत्साहित गराउन खोजेको विगत सुनाउँदै उहाँले सुनाउनुभयो। ‘कसैको कुरा नसुनी थोरै लगानीमा व्यवसाय सुरु गरेर लागिरहें, अहिले यसै उद्यमबाट सबैतिर चिनिन थालेकी छु । ’ उषाले आफूमात्रै उद्यमी नबनेर दुईजना महिलालाई रोजगारी पनि दिनुभएको छ ।  ‘आफू मार्केटिङमा हिँडिरहनुपर्छ ।  त्यही भएर मान्छे राखेकी छु’ –उहाँले भन्नुभयो ।  ‘सरकारी क्षेत्रबाट सहयोग पाएदेखि थप अचारका परिकार उत्पादन गर्ने थिएँ । ’ आफूले अचारको उद्यम चलाएपछि अहिले सबैले ‘अचार दिदी’ भनेर चिन्ने गरेको सुनाउँदै उषा उत्साहित बन्नुहुन्छ–‘उद्यमकै कारण सबैले चिन्न थाल्नुभएको छ, खुसी लाग्छ । ’
जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  इलामका अधिकांश किसानले अदुवाबिना प्रशोधन कच्चारूपमा नै बेच्ने गरेका कारण पनि सधैँ मूल्यको मारमा पर्नुपर्ने अवस्था रहेको कार्यालयले बताएको छ ।  अदुवालाई प्रशोधन र विभिन्न परिकार बनाई बिक्री गरेको खण्डमा आम्दानी बढाउन सकिने कृषि विकास कार्यालयको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्