खोटाङमा शिलान्यास गरेको १५ महिना बित्दा पनि पुल बनेन

<span class='c1'>खोटाङमा शिलान्यास गरेको १५ महिना</span> <span class='c2'>बित्दा पनि पुल बनेन</span>

खोटाङ, फागुन २५ गते । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकमा पर्ने साप्सुखोलाको पक्की पुल शिलान्यास गरेको १५ महिना बित्दा पनि काम अघि बढेको छैन ।

तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते शिलान्यास गरेको पुल निर्माणको काम हाल अलपत्र परेकोे छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सुखोलाको मोटरेबल पुल शिलान्यासका क्रममा पेटी ठेकेदार श्याम पोखरेलले सात महिनामै पुल निर्माणको काम पूरा गर्ने बताएका थिए । शिलान्यास कार्यक्रममा पूर्व सांसद कुलप्रसाद फुयाँलले पुलको काम बीचैमा अलपत्र नपार्न आग्रह पनि गरेका थिए ।

नभन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने पुलको हालत पूर्व सांसद फुयाँलले कटाक्ष गरेभन्दा फरक परेको छैन । दिक्तेल–खोटाङबजार हरित सडकखण्डमा पर्ने साप्सुखोलाको पक्की पुल शिलान्यासका क्रममा पेटी ठेकेदार पोखरेलले २०७४ असार मसान्तभित्र पुल निर्माणको काम पूरा गर्ने प्रतिबद्धता जनाए पनि सो अनुसार काम गरेनन् ।

सम्झौता भएको १८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरी निर्माण सेवा जेभीले २०७३ साल वैशाखमा पुल निर्माणको जिम्मा लिएको थियो । रु दुई करोड ३० लाख ३६ हजारको लागतमा पूरा गर्ने गरी जिम्मा लिएको पुलको म्याद गत कात्तिकमै सकिएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको लगानीमा ठेक्का लागेको पुलमा शिलान्यास भएदेखि कुनै काम भएको छैन । समयावधि सकिएको चार महिना बित्दा पनि लफ्याङतर्फ मात्र जग खनेर केही रड राख्ने बाहेक अन्य कुनै काम हुन नसकेको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बतउनुभयो ।

अहिले अलपत्र परेको पुल निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि ठेकेदार कम्पनीले कुनै चासो नदिएको गाउँपालिकाले जनाएको छ । तत्कालीन जिल्ला विकास समिति र प्राविधिक कार्यालयले पटकपटक खबरदारी गर्दासमेत ठेकेदारले पुल निर्माणको काममा चासो नदिएको बताइएको छ ।

जिल्लाको आर्थिक समृद्धिसँग जोडिएको पुल सम्झौता मितिमा निर्माण नहुँदा दिक्तेल–खोटाङबजार सडक उपयोगमा कठिनाइ भएको छ । बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (¥याप) ले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो हरित सडक साप्सु र तावा खोलामा पुल नहुँदा उपयोगविहीन बनेको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडक जोड्ने सो पुल जिल्लाको गौरवको योजनामध्येमा पर्छ । साप्सु खोलाको पुल निर्माणमा भइरहेको ढिलाइका विषयमा जिल्लाका विभिन्न छलफल, बैठक तथा सभामा समेत आवाज उठ्ने गरेको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्