तेह्रथुम, चैत १६ – छुरा प्रहार गरी युवकको हत्या गर्ने लालीगुराँस नगरपालिका–८, सोल्माकी ३५ वर्षीया निरु भनिने नरमाया लिम्बूलाई जिल्ला अदालत तेह्रथुमले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । लिम्बूलाई गएको भदौ २८ गते राति छिमेकी २१ वर्षे अनिल भुजेलको हत्या गरेको आरोपमा असोज २ गते प्रहरीले पक्राउ गरेको थियो ।
लिम्बूलाई जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । कक्षा १२ मा पढ्दै गरेका भुजेल गत भदौ २८ गते साँझ निरुको रक्सी पसलमा गएका थिए । त्यसै राति ९ बजे लिम्बूले भुजेलले आत्महत्या गरेको भन्दै गाउँका अन्य छिमेकी र भुजेलको परिवारलाई खबर गरेकी थिइन् ।
लिम्बूविरुद्ध अनिलका बुवा रुद्रबहादुर भुजेलले असोज २ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुममा उजुरी दिनुभएको थियो । अभियुक्त लिम्बुका श्रीमान् रोजगारीका लागि परदेशमा रहेका छन् । उनको एउटा छोरो रहेको छ । श्रीमान् विदेशमा भएका बेला भुजेलसँग पटक–पटक यौन सम्पर्क भएको र त्यो दिन पनि भुजेलले यौन सम्पर्क गर्न भनेपछि लिम्बूले आफूलाई इच्छा नभएको भन्दै छुरा प्रहार गरी हत्या गरेको ठहरिएको तेह्रथुमले जिल्ला अदालतले जनाएको छ ।