विष्णुप्रसाद पोखरेल
दमक, माघ ४ गते । कमल गाउँपालिका–४ की देवका खतिवडाले करिब छ कट्ठा जमिनमा आलु, कोपी, टमाटरलगायतका तरकारी खेती लगाउनुभएको छ । उहाँले दुई वर्ष भयो विषादीको प्रयोग नै गर्नुभएको छैन । रासायानिक मलको सट्टा जैविक तथा प्राङ्गारिक मल प्रयोग गर्दै आउनुभएको छ ।
आवश्यक बीउ बिजन एवं मल पनि गाउँपालिका र सहकारीले उपलब्ध गराउने गरेको छ, खतिवडाले भन्नुभयो । उत्पादन गर्दा पहिलो विषादी र मलमा धेरै खर्च हुन्थ्यो तर अहिले त कम खर्चमा नै खेती गर्न सकिने रहेछ, खतिवडाले भन्नुभयो । आफूजस्तै गाउँमा २० जनाभन्दा बढीले यसरी नै खेती गर्न शुरु गरेको उहाँको भनाइ छ ।
कमल गाउँपालिकाकै इन्द्रप्रसाद दाहालको खेतीमा अहिले आलु, टमाटर, कोपीको बोट निकै फस्टाएर आएको छ । केही वर्षअघिसम्म रासायनिक मल र विषादी प्रयोग गर्ने उहाँ अहिले गोठको गोबर, गहुँतलाई नै प्रयोग गर्नुहुन्छ । घर वरिपरि सहजै पाइने झारपात, पतिङ्गरलाई विषादी बनाएर खेतमा हाल्ने गर्नुभएको छ । मलाई शुरुमा त विश्वास लागेको थिएन तर विषादी र रासायनिक मल प्रयोग नगर्दा पनि राम्रोसँंग बोट बिरुवा फस्टाउँदो रहेछ, दाहालले भन्नुभयो ।
भmापाको कमल गाँउपालिकामा व्यावसायिक तरकारी खेतीका लागि विषादी न्यूनीकरण अभियानअन्तर्गत एकीकृत शत्रु जीव व्यवस्थापन (आईपीएम) पाठशाला चलाइएपछि यसमा किसान आकर्षित भएको पाइएको छ । किसानले यसका लागि सहकारी संस्था नै स्थापना गरेका छन् भने ठाउँठाउँमा समूह बनाएर सामूहिक रूपमा एकीकृत शत्रु जीव व्यवस्थापन अभियानमा जुटेका छन् ।
बाली–बिरुवाको विकासमा बाधा गर्ने रोग, कीरा, झारपात, चरा, मुसा आदिलाई वातावरणीय असर नगर्ने गरी रोकथाम गर्ने विधि अपनाउन किसानलाई पाठशालामा सिकाइने भएपछि उनीहरू यसमा आकर्षित भएको पाइएको हो । पर्यावरणलाई ध्यान दिई रासायनिक विषादीको प्रयोग कम वा गर्दै नगरिने गरिने हुँदा यो दिगो मानिने भएकाले यस विषयमा किसानलाई सचेत बनाउन थालिएको कमल गाउँपालिकाका कृषि प्राविधिक प्रेम पोखरेलले बताउनुभयो ।
गाउँपालिकाले यसलाई प्रचार गर्नका लागि विषादीमुक्त सप्ताह र प्राङ्गारिक मल वितरण कार्यक्रम शुरु गरेको छ । कमल गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीका अनुसार यो प्रविधिबाट उत्पादन गरेको तरकारी बिक्री वितरणका लागि तत्कालै तरकारी बजार स्थापना गर्ने तयारी भएको छ । नगरपालिकाले किसानलाई यसतर्फ आकर्षित गर्न दस लाख रुपियाँ बजेट विनियोजन गरेको बताइन्छ ।
आईपीएम कृषि सहकारी संस्थाका सचिव टङ्क कट्टेलका अनुसार स्वस्थ बाली उत्पादन, खेतबारीको नियमित अवलोकन, मित्र जीवको संरक्षणलगायतका विषयमा सहकारीले कृषि समूहमार्फत पाठशाला चलाएर सहजीकरण गर्दै आएको छ । पाठशालामा एक हजारभन्दा बढी किसान सहभागी भएको उहाँले बताउनुभयो । बालीमा शत्रुजीव कीराहरू बसेको अवस्थामा भौतिक तथा यान्त्रिक तरिका हातले टिप्ने, अवरोध राख्ने, पासो थाप्ने, अनाज सुकाउनेजस्ता विधि यसमा प्रयोग हुने उहाँले जनाउनुभयो ।
नीम, टिमुर, बोझो, तितेपाती, ज्वानु, तोरीको तेल प्रयोग गरी अन्न भण्डारणमा रोग कीरा नियन्त्रण गर्ने, काठको धूलो, गहुँत, साबुनपानी, सूती झोल प्रयोग गरी तरकारी बालीको कीरा नियन्त्रण, सुन्तला जात फलफूल र लहरे तरकारीको औंसा कीरा नियन्त्रणका लागि फेरोमेन ट्रयाप, खेतबारीको सरसफाइ गर्नेजस्ता विधि अपनाउन किसानले थालेको बताइएको छ । एकीकृत शत्रु जीव व्यवस्थापनका लागि किसानले स्थानीय वनस्पतिबाट तयार गरिने झोल मल, गाईको गहुँत, मोहीको प्रयोगदेखि लिएर केही मात्रामा ढुसीजन्य, ब्याक्टेरिया, भाइरस तथा निमाटोड जन्य जैविक विषादी शुरु गरेको कृषि प्राविधिकले जनाएका छन् ।