सुनसरी, मोरङ र झापाका उखु किसान अर्को मारमा वजन जोगाउनै गाह्रो

<span class='c1'>सुनसरी, मोरङ र झापाका उखु किसान</span> <span class='c2'>अर्को मारमा वजन जोगाउनै गाह्रो</span>

नवराज कट्टेल

विराटनगर, माघ १७ गते ।

मोरङ जहदा गाउँपालिका–५ का किसान ध्रुवराज कोइरालाको छ बिघा क्षेत्रफलमा उखु खेती छ । बहुबर्से नगदे बाली उखुमा वर्ष दिनका लगानी प्रतिफल उकास्ने समय आए पनि हैरानी भने उस्तै छ ।
ढिलो गरी उखु काट्ने पुर्जी पाएपछि दैनिक १२ जना मजदुर लगाएर खेती उकास्ने हतारोमा कृषक कोइराला हुनुहुन्छ । खेतमै सुक्न थालेकोले काट्ने बित्तिकै तौल लिएर बिक्रीमा हतारो नगरे हुने क्षतिको चिन्ता कोइराला जस्तै धेरै किसानलाई छ ।
उद्योगीसँग खरिद–बिक्री मूल्य समझदारीपछि पुर्जी पाएका किसानले काटेको उखु पेल्ने मिलमा समस्या आएपछि कोइराला जस्तै धेरै किसानले उखुको वजनमा आउने ह्रासको चिन्ता लिनु परेको छ । काटिसकेको उखुको तत्काल तौल लिएर बिक्री गर्न नपाउँदा किसानले अत्यधिक क्षति बेहोर्नुपर्ने हुन्छ । खेतमै रहेको उखुको भन्दा काटिसकेको उखुको वजनमा दोब्बर ह्रास आउने गरेका कारण किसानलाई उखुको वजन जोगाउनै गाह्रो परेको छ ।

एक ट्रली उखुको वजन ८० क्विन्टल हुन्छ । किसानले काटिसकेको उखु दुई दिन मात्रै रह्यो भने चार क्विन्टल, तीन दिनमा सात क्विन्टल, चार दिनमा ११ क्विन्टल र पाँच दिनमा १५ क्विन्टल ह्रास हुने गर्दछ ।

सुनसरी, मोरङ र झापाका किसानले उत्पादन गरेको उखु खरिद गरेर पेल्दै आएको इस्टर्न सुगर मिलको मेसिनरी पुर्जा ‘प्यान’ फुटेपछि किसानको उखुको तौल लिने कामसमेत ढिलो हँुदा क्षतिको चिन्तामा किसान परेका हुन् ।
उखु पेलेर निकालेको रस तताएर उमाल्ने दुईवटा प्यान पड्किएसँगै दैनिक उखु पेल्ने क्षमतामा कमी आएकोले तौल लिने काममा समेत अवरोध भएको हो । प्यान पड्केसँगै मिल व्यवस्थापन पक्षले मर्मतको काम थालिसकेको भए पनि अझै १५ दिन लाग्ने बताइन्छ ।

दैनिक २० हजार क्विन्टल उखु पेल्ने इस्टर्नले अहिले दैनिक १२ देखि १५ हजार क्विन्टल पेलिरहेको छ । ढिलो गरी काट्न थालेका किसानले काटिसकेको उखुसँगै काट्न बाँकी उखुको वजनमा आउने ह्रासको चिन्ता भने आफैँ लिनुपर्ने बाध्यता छ ।
इस्टर्न सुगर मिलका प्रमुख उखु प्रबन्धक सुरेशप्रसाद मेहताका अनुसार मिलले एक हजार किसानलाई १८० हजार क्विन्टल उखु काट्न पुर्जी जारी गरिसकिएको थियो । पुर्जी पाएका किसानले काटेको उखुको तौल लिने काम पनि क्रसिङमा आएको समस्याले ढिलो हुने भएपछि जारी भएका पुर्जीमा उल्लेखित परिमाण घटाउन अनुरोध गरिएको छ ।
खेतमै सुकेर वजनमा क्षति बेहोरेका किसानले काटिसकेको उखु तत्कालै तौल लिएर जिम्मा लगाउन नसक्दा हुने क्षतिको जिम्मेवार किसान बन्ने कि मिल सञ्चालक भन्ने विषयमा कुरा भइरहेको कोसी उखु उत्पादक सङ्घका शिवलाल चौधरीको भनाइ छ ।

मिलले पेलाइको आवश्यकता हेरेर मात्रै उखुको तौल लिने गरेको छ । किसानले भने काटिसकेको उखुको तौल लिएर भण्डारण गर्नुपर्ने माग अगाडि सारेपछि मिल व्यवस्थापनले मानेको छैन ।
काटिसकेको उखु चार–पाँच दिन राख्नुपर्ने अवस्थामा किसानले प्रतिट्रली १२ देखि १५ क्विन्टलसम्म वजनको ह्रास क्षति बेहोर्नुपर्ने हुन्छ ।

तीन जिल्लामा दुई हजार चार सय किसानले उखु खेती गरेका छन् । गत वर्ष दुई हजार किसानबाट ११ लाख ७८ हजार क्विन्टल उखु खरिद गरेको मिलले यस वर्ष १५ लाख क्विन्टल उखु उत्पादनको अनुमान गरेको छ तर उखु उत्पादक सङ्घका अध्यक्ष चौधरी भने एक लाख क्विन्टल उखु त खेतमै सुकेर नासिएको दाबी गर्नुहुन्छ ।
पहिलो चरणमा जारी भएको पुर्जीका आधारमा किसानले काटेको उखु पेल्ने समस्याले रोकिए झन् धेरै क्षति हुनसक्ने चौधरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्