जनप्रतिनिधीका काम : सडक छैन, गाडी किन्न हतारो, किनिएका गाडी सदरमुकाममा थन्कीए

<span class='c1'>जनप्रतिनिधीका काम : सडक छैन, गाडी</span> <span class='c2'>किन्न हतारो, किनिएका गाडी सदरमुकाममा थन्कीए</span>

खाँदबारी, ६ फागुन । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन। ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्र्याक मात्रै खोलिएको छ। यो कच्ची बाटोमा हिउँदका केही महिना मुस्किलले गाडी कुद्छन्। गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कर्पियो गाडी खरिद गरेको छ। चारवटा मोटरसाइकल किनेको छ।

‘गाउँपालिकाभरिको त कुरै छाडौं, गाउँपालिका केन्द्रसम्म पनि गाडी जान सक्ने अवस्था छैन’, भोटखोला–३ का वाङदावी भोटेले भने, ‘तर, जनप्रतिनिधिले गाउँपालिकालाई आर्थिक बोझ थोपरेर गाडी र मोटरसाइकल खरिद गरेका छन्। सडक नभएको ठाउँमा कहाँ कुदाउन गाडी चाहिएको हो भन्ने स्पष्ट पार्न सकेका छैनन्।’

हिउँदका केही महिना मात्र चल्ने सडक भएको ठाउँमा गाडी खरिद गर्न जनप्रतिनिधिले हतारो गरेको उनको भनाइ छ। ‘सुविधाभोगी भएर जनप्रतिनिधिले गाडी किन्दा खर्च बढिरहेको छ’, उनले भने, ‘गाउँमा राम्रो गोरेटो पनि नहुँदा सर्वसाधारण भने अप्ठेरो ठाउँबाट जोखिम मोलेर हिँड्न वाध्य छन्। ’ गाडी र मोटरसाइकल जिल्ला सदरमुकाम खाँदबारीमै राखिएको छ।

‘गाउँपालिकासँग चारवटा मोटरसाइकल छन्’, सूचना अधिकारी दावा लामाले भने, ‘सडक अभावमा लैजान नसक्दा सदरमुकाममै राखिएको हो।’ सदरमुकाममा जसले पायो त्यसले कुदाउने गरेको भोटेको भनाइ छ। वडाले पनि मोटरसाइकल खरिद गरेको सुन्दा अचम्म लागेको उनले बताए। ‘सडक नभएका ठाउँमा कुन प्रयोजनका लागि गाडी किनियो भनेर जनताले प्रश्न गरिरहेका छन्’, साबिक हटिया गाविसका पूर्वअध्यक्ष भोटेले भने, ‘सडकबिना सवारी साधन किनेर बजेट दुरूपयोग गरेका जनप्रतिनिधिले यसको जवाफ दिनुपर्छ।’

गाउँपालिका अध्यक्ष तेम्बा भोटेले हरेक कामका लागि जिल्ला सदरमुकाम जानुपर्ने भएकाले गाडी खरिद गर्नुपरेको बताए। ‘गाउँमा सडक नभएको सत्य हो’, उनले भने, ‘यत्रा जनप्रतिनिधि आएपछि सडक छैन भनेर गाडी खरिद नगरी बस्ने कुरा पनि भएन।’ उनका अनुसार गाउँमा सम्झौता हुने योजनाका लागि खाता खोल्न र पैसा झिक्न सदरमुकाम खाँदबारी पुग्नै पर्छ। भने, ‘खाँदबारी आउजाउका लागि भए पनि गाडी खरिद गरियो।’

एउटा फोटोकपी गर्न पनि सदरमुकाम आउनुपर्ने बाध्यता रहेको उनले सुनाए। गाउँ–गाउँमा सिंहदरबार भनिए पनि अझै सदरमुकामकै भर छ। गाउँपालिकामा सडक सञ्जाल विस्तार गर्न नसकिएको उनले उल्लेख गरे। ‘दुर्गम भन्दै कर्मचारी आउन मान्दैनन्’, उनले भने, ‘सडक अभावमा जनताले पनि धेरै दुःख पाइरहेका छन्।’

किमाथांका–विराटनगर–रानी सडकअन्तर्गत ठाडो खोलाबाट वरुण दोभानसम्म हिउँदको समयमा यातायात सञ्चालन हुन सक्ने सडक तयार भएको उत्तर–दक्षिण कोसी सडक अयोजनाका सब–इन्जिनियर पुष्कर चौधरीले बताए।

चिचिला गाउँपालिकाले ३६ लाख ६० हजार रुपैयाँमा गाडी खरिद गरेको सूचना अधिकारी राजेन्द्र घिमिरेले सुनाए। २ लाख ६५ हजार र २ लाख ५६ हजारमा एउटा÷एउटा अनि २ लाख १६ हजार दरका चारवटा मोटरसाइकल खरिद गरिएको छ। खाँदबारी नगरपालिकाले ३० लाखमा बोलेरो, ३८ लाख २५ हजारमा ब्याकहो लोडर गाडी खरिद गरेको छ। यसअघि दुईवटा गाडी थिए। चैनपुर नगरपालिकाले ५ लाख लागतमा मोटरसाइकल खरिद गरेको छ। एउटा गाडी सञ्चालनमा रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले बताए।

मादी नगरपालिकाले २३ लाख ८५ हजार, धर्मदेवी नगरपालिकाले ३२ लाख ६० हजारमा गाडी खरिद गरे। धर्मदेवीका मेयरका लागि २ लाख ५५ हजारमा मोटरसाइकल र उपमेयरलाई १ लाख ७४ हजारमा स्कुटर खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले बताए। उनका अनुसार २ लाख १७ हजार दरले आठ मोटरसाइकल खरिद गरिएको छ। नगरपालिकाले ३९ लाख ३४ हजारमा जेसीबी पनि खरिद गरेको छ।

सभापोखरी गाउँपालिकाले ४१ लाख ५० हजारमा पिकअप स्कर्पियो गाडी खरिद गरेको अध्यक्ष सीता दाहालले सुनाइन्। सभापोखरी गाउँपालिकाले तीनवटा मोटरसाइकल खरिद गरेको छ। पाँचखपन नगरपालिकाले ३६ लाखमा स्कर्पियो गाडी खरिद गरेको थियो। उक्त गाडी दुर्घटनामा परेर सञ्चालन नहुने अवस्थामा छ। २ लाख ५० हजारका दरले आठ मोटरसाइकल पनि खरिद गरिएको नगरपालिकाका सूचना अधिकारी प्रेमबहादुर श्रेष्ठले बताए। नगरपालिकाले ४५ लाखमा एउटा ब्याकहो लोडर पनि खरिद गरेको छ।

मकालु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लवहाङ राईका अनुसार २ लाख ४० हजार दरले दुई मोटरसाइकल खरिद गरिएको छ। गाडी खरिद प्रक्रिया रहेको उनको भनाइ छ। अन्नपुर्ण पाेष्टबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्