कान्तिपुरमा आइतवार छापिएको ‘ओलीप्रति नेपाल आक्रोशित’ शीर्षकको समाचार पढेपछि आश्चर्य लाग्यो । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीबाट सरकारमा पठाएका मन्त्रीलाई मनोमानी तरिकाले हटाएको भन्दै नेतृत्वको आलोचना गरेका रहेछन् । अनि उनले ‘जनताले तिरष्कार गरेको व्यक्तिलाई सरकारमा पठाएको र यसले पार्टीको छविमा समेत प्रश्न उठेको’ बताएका रहेछन् । कस्तो अचम्मको कुरा ? पूर्व प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्ति नेपालको यो कुरा सुनेर मलाई अचम्म लाग्यो । उनको कुरा हाँस्यास्पद छ । उनले कति चाँडो आफ्नो विगतलाई विर्सिएका होलान्?
आफु पहिलो संविधान सभा चुनावमा दुई दुई ठाउँबाट चुनाव हारेको बेला संविधान सभामा मनोनित भएको र प्रधानमन्त्री बनेको यथार्थ उनले किन यति चाँडो बिर्सिएका हुन् ? लाजै पचाएर अहिले ओलीसमेत नेतृत्वलाई ओलाचनाका लागि मात्र आलोचना किन गरेको होलान् ? के उनी पहिलो संविधान सभाबाट प्रधानमन्त्री बन्दा चाहिँ जनताले नरुचाएको, तिरस्कृत भएको अवस्था थिएन? उनी त दुई दुई ठाउँबाट जनताबाट तिरस्कृत व्यक्ति थिएनन् त्यतिबेला? त्यो बेला उनी प्रधानमन्त्री बनेर नेकपा एमालेको छविमाथि प्रश्न उठेको थिएन त? उनले २०५१ सालपछि आफु १५ वर्ष एकलौटी नेकपा एमालेको महासचिव जस्तो प्रमुख पदमा बसेर गरेको मनोमानिको उनी स्वयंले समिक्षा गर्नु पर्दैन? अहिले केपी शर्मा ओलीले पार्टी नेतृत्व समालेको भर्खरै हो । उनको कार्यकाल राम्रो संग हेर्न नै बाँकी छ । काम गर्ने अवसर नै नदिई जिम्मेवारीमा पुग्ने बित्तिकै नेताहरुको चर्को आलोचना गर्नु भनेको केवल मनोगत र कपोकल्पीत हुदैन र ? नेताहरुलाई आफु सार्बजनिक रुपमा स्टेजमा उभिएर के बोल्दैछु र आफ्नो विगतको यथार्थ धरातल के कस्तो हो? भनेर आफ्नो जीवनयात्राको सिँहवालोकन गर्ने बुद्धि कहिले आउने होला? माधव कुमार नेपालले अहिले नेकपा एमालेले पठाएका मन्त्रीहरुलाई लिएर जनताले तिरस्कार गरेका व्यक्ति, सक्षम, पार्टीको छविमा प्रश्न उठ्ने भन्नु पटक्कै सुहाउने विषय भएन । भन्नेलाई भन्दा सुन्ने र पढ्नेलाई लाजमर्दो कुरा भयो ।
—नोदनाथ त्रिताल
कुरुले तेनुपा—५, धनकुटा