ताप्लेजुङ, ८ असार । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत जिल्लामा आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ४ करोड बढी बजेट विनियोजन गरिएको छ । जिल्लाका पर्यटकीय स्थलको विकास निर्माण र प्रचार–प्रसारका लागि रकम विनियोजन गरिएको हो । नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार १० लाखदेखि ८० लाख रुपैयाँसम्मका योजना छन् ।
सिदिङवा गाउँपालिकास्थित तिम्बुङ पोखरी, मिक्वाखोला गाउँपालिकाको साँवास्थित फुङफुङे झरना र पाथीभरा क्षेत्रमा निर्माण गरिने रवीन्द्र स्मृति पार्कका लागि ५०/५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी कञ्चनजंघा क्षेत्र (लेलेप, घुन्सा र गोला आधाशिविर) र पाथीभरा क्षेत्र विकाससँगको साझेदारीमा पूर्वाधार विकास कार्यक्रमका लागि ८०/८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यता फुङलिङ नगरपालिकामा रहेकोका सिद्धिडाँडामा पर्यटन पूर्वाधार निर्माणमा २० लाख, सिरिजंघा गाउँपालिकाको सिनाम क्षेत्र पर्यटन पूर्वाधार विकासमा २५ लाख, फुङलिङ नगरपालिकामा निर्माण गरिने सहिद स्मृति पार्कमा १० लाख, मेरिङदेन गाउँपालिकाको गुराँसेपोखरी संरक्षण पर्यटन पूर्वाधार विकासमा १० लाख विनियोजन गरिएको छ । तिनजुरे मिल्के जलजले क्षेत्र (तेह्रथुम र ताप्लेजुङ) को विकासका लागी ५० लाख रुपैयाँ विनियोजन गरिएको गुरागाईंले बताए ।
यसैबीच कञ्चनजंघा, मनास्लु र अन्नपूर्ण क्षेत्रका पदमार्ग निमार्णका लागि ४५ लाख विनियोजन गरिएको छ ।
यो बजेट भने यस अघि मन्त्रालयमा डीपीआर तयार गरी पेस गरेको भए मात्र प्राप्त गर्न सकिनेछ । ग्रेट हिमालयन ट्रेल कार्यक्रमका लागि भने सरकारले १० करोड विनियोजन गरेको छ । यता पाथिभरामा गुरुयोजना निर्माण गरी अघि बढ्ने भएकाले त्यसका लागि आवश्यक बजेटको व्यवस्था रहेको गुरागाईंले जानकारी दिए । विनियोजित बजेटको कार्यान्वयनका लागि भने संघिय सरकारले प्रदेश र स्थानीय तहलाई अख्तियारी दिनेछ । यसअघि सरकारले तोकेको एक सय घुम्नै पर्ने गन्तव्यको सूचीमा ताप्लेजुङका तीन पर्यटकीय स्थल समावेश भएका छन् । पाथीभरा, फुङ्फुङे झरना र तिम्बुङ पोखरी सूचीमा समावेश भएका हुन् ।