पाँचथर,११ असार । याङवरक गाउँपालिका–२, फलैँचामा निरन्तरको वर्षापछि गएको पहिरोले ६ बस्ती जोखिममा परेका छन् । मंगलबार राति १ बजेतिर गएको पहिरोले यहाँका सेपी, चिङमा, वेतेनी, धिमाल, मुक्लाबु, र गङ्गावा बस्तीका घर जोखिममा परेको वडा सदस्य प्रेमकुमार राइले जानकारि दिनुभयो ।
पहिरोबाट मानवीय क्षति नभए पनि मुक्लाबुका पहलमान राइको घर बगाएको छ भने ७० भन्दा बढि चौपाया पुरेको वडासदस्य राइले बताउनुभयो । पहिरोले पुर्याएको क्षतिको विवरण पूरा आउन बाँकि छ ।
अहिलेपनि यस वर्षा भइरहेकाले पहिरोले जोखिममा पारेका घरका मानिसहरु सुरक्षित स्थानमा बस्न स्थानीय डुँडे चौरमा पुगेका छन् । पहिरोले ती बस्तीहरुमा सञ्चालित चिङवा रवि खोला लघु जलविद्युत आयोजनामा पनि क्षति पुर्याएको छ । पहिरोले आयोजना अवरुद्ध भएपछि स्थानियसँग फोनसम्पर्क पनि हुन नसकेको वडासदस्य राइले जानकारी दिनुभयो ।
पहिरोले खानेपानीको ट्यांकीसमेत पुरेको छ राहतको लागि गएको टोली वर्षाका कारण आइपुग्न सकेको छैन ।
गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङ नेतृत्वको टोली राहतको लागि गए पनि निरन्तरको वर्षाले सडक हिलाम्ले भएपछि अझैसम्म पुग्न नसकेको बताइएको छ । यातायातको पहुँचबाट टाढा रहेका ती बस्तीमा सवारी साधनबाट ओर्लेर २ घण्टा पैदलपछि मात्र पुग्न सकिने हुँदा राहत वितरण गर्ने टोली पुग्न समय लाग्ने वडा सदस्य राइले बताउनुभयो ।