झापा, १२ असार । झापामा २६ जनामा डेंगुको संक्रमण फेला परेको छ। पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ। पछिल्लो समय झापाको बिर्तामोडमा ९ जना, दमकमा ७ जना, मेचीनगरमा ७ जना, अर्जुनधारामा २ जना र भद्रपुर नगरपालिकामा १ जनालाई डेंगुको संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका डेंगु सम्बन्धी फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए।
'डेंगुको संक्रमणले बिरामीको संख्या दिनानुदिन बढ्दै गएकाले स्थानीय तहले डेंगु नियन्त्रण अभियानलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने हो।' उनले भने 'केही स्थानीय तहबाहेक अरुले प्रभावकारी अभियान चलाउन सकेको छैन।'
चम्लागाईका अनुसार डेंगुको संक्रमण विगतका वर्षहरुमा पनि झापामा देखा परेकाले बेलैमा सचेतनामूलक कार्यक्रम संचालन गर्न स्थानीय तहलाई सुझाव दिइएको थियो।
एक महिनाअघि धरानमा देखिएको डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो। प्रदेशमा जहाँ डेंगु फैलिन्छ त्यहाँ १ साताभित्र पूर्णरुपमा नियन्त्रण गर्ने जनाएपनि डेंगुको संक्रमण फैलने क्रम बढ्दै गएको चिकित्सकहरु बताउँछन्।
सामान्य अवस्थामै हेलचेक्र्याई गर्दा भोलि ठूलो महामारीको रुप लिने भएकाले आ-आफ्नो क्षेत्रबाट डेंगु रोग नियन्त्रणमा लाग्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुदन कोइरालाले बताए।