संखुवासभा, १६ असार । संखुवासभामा प्रहरी र विप्लव समूहबीच सोमबार बिहान भिडन्त भएको छ । सिलिचौङ गाउँपालिका १ होयङलामा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।
उनले घटनास्थलमा अहिल टेलिफोन सम्पर्क हुन नसकेकोले थप विवरण प्राप्त भइ नसकेको बताए । ‘दोहोरो भिडन्त भएको छ, दुवैतर्फबाट फायरिङ भएको छ तर टेलिफोन सम्पर्क नहुँदा थप विवरण आएको छैन’, पण्डितले भने ।
प्रदेश नं १ को संखुवासभामा भएको भनिएको विप्लव समूहका कार्यकर्ता र प्रहरीवीचको फायरिङ निकै टाढा–टाढाको भएको प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर ज्ञवालीले जानकारी दिएका छन्।
उनका अनुसार पहिला विप्लव समूहले फायरिङ खोलेपछि प्रहरीले जवाफी फायरिङ खोलेको हो। उनले भने, ‘त्यो फायरिङ निकै टाढाको फायरिङ हो। कुनै मानवीय क्षति वा अन्य कुनै घटना भएको छैन।’ डिआइजी ज्ञवालीले प्रहरीको थप टोली घटनास्थलतर्फ लागेको बताए। देश सञ्चारबाट