काठमाडौ, २६ असार । बाढी पूर्वानुमान महाशाखाले आज देशैभरीका नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ । बिहिबार जारी बाढी सूचनामा विहान ७ बजेको मापन अनुसार देशका सबै नदीहरु बढ्दो क्रममा रहने भएकाले जोखिम रहेको जनाएको हो ।
आज बेलुकी पछि कन्काई, सप्तकोसी, तमोर, दुधकोशी, सुनकोसी, कमला र बागमती तथा पूर्व राप्ति जलाधारमा बहाब उच्च हुने महाशाखाले पूर्वानुमान गरेको छ । नदीनालाहरु निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता तह पनि पुग्ने सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, देशैभरीका पहिरोग्रस्त पहाडी क्षेत्रहरु भएर बग्ने स–साना खोलाहरुमा पहिरो–लेदोसहित आकस्मिक बहाबको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले विशेषगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५,६ र ७ को तराईका होचा स्थानहरु डुबानमा पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।
यसैगरी, मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।