धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिँधुवामा अत्याधुनिक रंगशाला निर्माण हुने

धनकुटाको छथरजोरपाटी गाउँपालिकाको  सिँधुवामा अत्याधुनिक रंगशाला निर्माण हुने

धनकुटा, ५ साउन । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। खेलमैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भएको गाउँपालिकाले जनाएको छ।

करिब ३० करोड रुपियाँको लगानीमा सिँधुवामा निर्माण हुने खेलमैदानमा फुटबल मैदान, प्यारापिट, पार्किङ, कभर्ड हल, फुटसललगायत संरचना निर्माण हुने डीपीआरमा उल्लेख छ। खेल मैदानको प्यारापिट २५ सय दर्शक अट्ने क्षमताको हुने छ। खेल मैदानको ९८ मिटर र ४९ मिटर चौडाइमा मात्रै प्यारापिट बन्ने इन्जिनियर दिवस पौडेलले बताए।

उनका अनुसार सिँधुवा क्षेत्रमा धेरै मात्रामा वर्षा हुने भएकाले प्यारापिटमाथि ट्रस राखिने छ। यस्तै रंगशालामा मेडिकल, खेलाडीका लागि चेन्जिङ रुम पनि हुने छ। खेल मैदानको डीपीआर तयार भएसँगै संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा रंगशाला निर्माण हुने छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए। कुल लागतको ८० प्रतिशत संघीय सरकार र २० प्रतिशत स्थानीय तहले बेहोर्ने गरी संघीय सरकारमा प्रस्तावना पठाइएको र उक्त प्रस्तावना स्वीकृत हुनेबित्तिकै गुरुयोजनाअनुसार निर्माणको काम सुरु हुने उनले बताए।

सिँधुवा खेलमैदानलाई स्थानीय तहकै नमुना खेल मैदानका रूपमा अघि सारिएको समेत उनले बताए। स्थानीय सरस्वती माध्यमिक विद्यालयको उक्त खेल मैदानको जग्गा गाउँपालिकाले २५ वर्षका लागि स्वामित्व लिएको छ। खेलमैदान भएको जग्गाको क्षेत्रफल करिब ५० रोपनी छ। गाउँपालिकाको वडा नं. ६ कार्यालयले २०७४ सालमा ६ लाख रुपैयाँ बजेट विनियोजन गरेर सिंहदेवी युवा क्लबको संयोजनमा खेल मैदान निर्माण सुरु गरेको थियो।

सो समयमा खैल मैदान निर्माणमा आर्थिक अभाव भएपछि क्लबले ‘म बनाउँछु मेरो खेल मैदान’ अभियानसमेत सञ्चालन गरेको थियो। उक्त अभियानबाट आठ लाख रुपैयाँ सहयोग संकलन भएको क्लबका अध्यक्ष दिवस खड्काले बताए। उनका अनुसार अभियानमा ५० जनाभन्दा बढी दाताले न्यूनतम पाँच सयदेखि ३५ हजार पाँच सय रुपैयाँसम्म सहयोग गरेका थिए। यस्तै गत आवमा प्रदेशको सामाजिक विकास मन्त्रालयले आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

उक्त बजेटले खेलमैदानको तल्लो क्षेत्रमा तार जाली लगाउने काम गरिएको थियो। सिँधुवा खेल मैदानमा वडास्तरको दुईवटा प्रतियोगिता र एक लाख रुपैयाँ पुरस्कार राशिको गाउँपालिस्तरको प्रथम छथर कप फुटबल प्रतियोगितासमेत सञ्चालन भइसकेको छ।

खेल मैदानको डीपीआर बनेसँगै यहाँका खेलाडीमा उत्साह छाएको छ। कुनै बेला ‘ए’ डिभिजन लिगमा यस क्षेत्रबाट फुटबलर लक्ष्मीनारायण श्रेष्ठजस्ता चर्चित खेलाडी विभिन्न क्लबबाट फुटबल खेल्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्