उदयपुर,१८ साउन । सगरमाथा प्रबेशद्धारको रुपमा रहेको एक मात्र सिद्धिचरण लोकमार्ग प्रत्येक वर्ष ठप्प हुन्छ । जब वर्षात सुरु हुन्छ तब लोकमार्ग ठप्प हुने गर्दछ । यस वर्ष पनि यस्तै भयो । गत असार २६ गतेबाट ठप्प रहेको लोकमार्ग खुल्न अझै केहि दिन लाग्ने छ ।
सिद्धिचरण लोकमार्गको कटारी – घुर्मि खण्डको सडकमा हरेक वर्ष पहिरोले बाटो अबरुद्ध हुने गरेको छ । सो सडक अन्र्तगत कटारी – घुर्मि खण्डको कटारी नगरपालिका– ११ स्थित ठाँटी भन्ञ्याङमा झर्रे पहिरोले सिद्धिचरण लोकमार्ग ठप्प हुने गरेको हो ।
बर्सेनी ठाँटीभन्ज्याङमा झर्ने पहिरोले गर्दा अपर सगरमाथामा खाद्यन्न लगायत अभाब हुन थालेको छ । दशक यता बर्सेनी लोकमागको ठाँटीभन्ज्याङमा पहिरो झरेकै हुन्छ । यसले यातायात अवरुद्ध हुने गरेको छ । सर्बसाधारण गन्तव्य पुग्नबाट बञ्चित हुन्छन् भने उपभोग्य सामग्री ढुवानी बन्द हुने गरेको छ ।
एक पटक पहिरो गएपछि महिना दिनसम्म सडक अवरुद्ध हुने गरेको उदाहरण छ । ठाँटीकै पहिरोका कारण तीन सातादेखि यातायात ठप्प भयो । पहिरोले उदयपुर लगायत सोलुखुम्बु, ओखलढुंगा र खोटाङका सर्बसाधारण, व्यापारी, उद्योगपति, कर्मचारी, यातायात व्यवसायी देखि धार्मिक यात्रामा आउने तीर्थयात्रीले समेत सास्ती खेप्नु प-यो ।
ठाँटीमा उत्तर र दक्षिण दुवैतर्फ भिरालो पहाड छ । बीचमा नाके डाँडी जस्तै भएर लोकमार्ग बनेको छ । सडकको दुवैतिर कहालीलाग्दो भीर भएको यही ठाउँमा हरेक वर्ष पहिरो झर्ने गरेको हो । बर्सेनी सडकारले करोडौंको लगानीमा मर्मत गरि रहेको छ । तर, दीर्घकालीन उपाय नअपनाउँदा हरेक वर्ष समस्या बल्झने गरेको हो ।
ठाँटीमा पहिरो गएको पाचौँ पटक भयो,’ कटारी बजारका यातायात व्यवसायी शत्रुधन कार्कीले भने, ०५६/५७ तिर सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड सञ्चालन भएको हो । तर त्यसको ५/६ वर्षपछि ०६१/०६२ सालमा पहिलो पटक ठाँटीमा पहिरो गएर लोकमार्ग अवरुद्ध भएको उनले बताए ।
त्यस यता वषैपिच्छे ठाँटीमा पहिरो गएर सडक अवरुद्ध हुँदै आएको छ,’ कार्कीले भने, ‘बर्सेनी करोडौं खर्चेर मर्मत गरिन्छ, फेरि उस्तै हुन्छ । गत वर्ष साउनमा पनि डिभिजन सडक कार्यालय लहानले झन्डै २ करोड रुपैयाँ खर्चेर ठाँटी पहिरो रोकथामको प्रयास गरेको थियो । त्यस अघि तत्कालीन ओम हलेसी यातायात व्यवसायी संघ, स्थानीय व्यापारी र सडक डिभिजन कार्यालय लाहानले करोडौं रुपैयाँ लगाएर मर्मत गरेका थिए । झन्डै १५ वर्ष यता ठाँटीमा पहिरोले लोकमार्ग बगाउने गरेको छ,’ उदयपुर उद्योग वाणिज्य संघ कटारीका महासचिव जमानसिह बस्नेतले भने, ‘दीर्घकालीन समाधानको उपाय ननिकाले सम्म सधैं यस्तै हो ।
सिद्धिचरण लोकमार्ग अवरुद्ध हुँदा सर्बसाधारण भारी बोकेर पैदल यात्रा गर्न बाध्य छन । सवारी साधन सञ्चालन नहुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुँदै गएपछि सोलु, ओखलढुंगा र खोटाङका सर्बसाधरणले महंगीको मार खेप्नु परेको सर्बसाधरणले गुनासो गरेका छन । सोलु, ओखलढुगा र खोटाङमा त समस्या भइ सक्यो, त्यो भन्दा बढी उदयपुरकै कटारी नगरपालिका– १४ घुर्मी बजारमा अभाव भएको छ,’ घुर्मीका व्यापारी समेत रहेका उदयपुर उद्योग वाणिज्य संघ कटारीका उपाध्यक्ष महेन्द्र दासले भने, ‘व्यापारीको पसल रित्तियो । यस्तै अवस्था रहिरहे सर्बसाधारण भोकै हुने अवस्था भएको उनले बताए । फेरि पनि ढाकरमा नुन बोकेर दुई दिन हिँड्नु परेको छ,’ खोटाङको हलेसी चुवाचुङ नगरपालिकका– ७६ वर्षीय नरबहादुर राईले भने, ‘बेतेनीदेखि घुर्मीसम्म ढाकरमा नुन, तेल, चामल, चिउरा बोकेर हिंडदै आउनु प¥यो ।’ बस चढ्ने अवस्था नभएकाले ढाकर बोक्नु परेको उनले बताए ।
त्यसैगरी साउन महिनामा पूर्वी नेपालदेखि भारत र भुटानसम्मका तीर्थयात्री पूर्वको पशुपति भनेर चिनिने हलेसी महादेवको दर्शनका लागि अन्य समय भन्दा बढी आउँछन । पूर्वी तराई, भारत र भूटानबाट हलेसी जाने छोटो बाटो भनेकै सिद्धिचरण लोकमार्ग हो । सिद्धिचरण अवरुद्ध हुँदा ठूलो सास्ती भोग्नु परेको छ,’ झापाको चन्द्रगढीबाट सोमबार हलेसी जल चढाउन हिंडेका सरोज मैनालीले भने, ‘पैदल यात्रा गरेर भए पनि हलेसी दर्शन गर्ने धोको छ ।
सर्बसाधरणले सास्ती खेप्नु परेकाले चाँडै सडक खोल्ने गरी मर्मतको काम भइ रहेको डिभिजन सडक कार्यालय लाहनका प्रमुख विनोदकुमार साहले बताए । दैनिक काम भइ रहको छ,’ उनले भने, ‘पहिरोले बगाएको खण्डको विकल्पमा सडक बनाएर सर्बसाधरणको आउजाउमा सहज बनाउने प्रयास हुँदैछ । असार २६ गतेको बर्षातसँगैको पहिरोले कटारी नगरपालिका– ११ ठाँटीमा पहिरो जाँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको हो । चार मिटर सडक नै पहिरोले बगाएपछि अहिले डिभिजन सडक कार्यालय लाहनले ५ सय मिटर नयाँ ट्रयाक्क खोल्ने काम गरि राखेको छ । तर सो लोकमार्गमा बर्सेनी करोडौंको खर्च गर्नु भन्दा बैकल्पिक दिर्घकालिन समाधान खोजिनु पर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा ओखलढुंगाका प्रतिनिधि सभा सदस्य यज्ञबहादुर सुनुवारको माग रहेको छ ।