सप्तरी भदौ १७ ,
जागिरको प्रलोभन देखाई एक दर्जन बढी महिलालाई बलात्कार गरी लुटपाट गर्ने सप्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
लामो समयदेखि प्रहरीको खोजीमा रहेका अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का २८ वर्षीय सञ्जीव खड्का नाम बताउने सन्तोषकुमार यादवलाई सप्तरी प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
रोजगारी डटकममार्फत् एनआइसी बैङ्कलगायत विभिन्न गैह्रसरकारी संस्थामा जागिर लगाइदिने भन्दै सम्पर्क गर्न लगाई सन्तोषले धेरै महिलालाई जालमा पारी बलात्कार र लुटपाट गर्ने गरेको इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।
आरोपितविरुद्ध पाँचजनाको उजुरी परेको र मौखिक उजुरी दिने अन्य महिला पनि प्रहरीको सम्पर्कमा रहेको प्रनाउ मिश्रले बताए । सामाजिक सञ्जाल र इमोमार्फत् फोन सम्पर्क गरी जागिर लगाइदिने भन्दै विराटनगर बोलाउने यादवले त्यहाँबाट आफ्नो गाउँ लगेर बलात्कार तथा लुटपाट गर्ने गरेको खुलेको छ ।
यादवलाई पक्राउ गर्नुअघि प्रहरीले उनको घरमा छापा मारी लुटिएका युवतीको मोबाइल, नगद र गरगहना बरामद गरिसकेको छ । प्रहरीले यादवको घरबाट लुटिएका महिलाको पर्स, आठवटा मोबाइल, सुन र चाँदीका गरगहना, नगद ३४ हजार, सनराइज बैङ्कको भिसा कार्ड, दुई वटा चेकबुक, आन्तरिक राजश्व विभागको एक पोका स्टिकर, चक्कु, खुकुरी र छुरी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी मिश्रका अनुसार यादवले नेपालगञ्ज, सिन्धुपाल्चोक, सोलुखुम्बु, कञ्चनपुरलगायत विभिन्न जिल्लाका युवतीलाई जागिरको प्रलोभनमा फसाई लुटपाट गरेका छन् ।
यादवविरुद्ध धेरैवटा उजुरी परेपछि पक्राउको योजना बनाएको सप्तरी प्रहरीले उनलाई पक्राउ गर्नुअघि विभिन्न प्रमाण सङ्कलन गरिसकेको जनाएको छ । प्रहरीले यादवलाई विशेष सूचनाको आधारमा भदौ १४ गते मोरङको बूढीगङ्गा गाउँपालिका–३ नेमुवास्थित डेराबाटै पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमार्फत् युवतीलाई विराटनगर बोलाउने यादवले दिनभरि अल्मल गरी साँझ पार्ने गरेको पीडितले बताएका छन् । साँझ परेपछि ‘विराटनगरको जागिर त खुस्कियो सप्तरीमा एउटा जागिर बाँकी छ, विराटनगरबाट बिहानै पुग्न नसकिने भएकोले अहिले नै जाऊँ’ भनेर आफ्नो गाउँ ल्याई राति बलात्कार र लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको डिएसपी मिश्रले जानकारी दिए ।
यादव विगतमा जबरजस्ती करणी उद्योगको मुद्दामा कैद भुक्तान नगरी फरार रहेका अभियुक्तसमेत रहेको पनि खुलेको छ । गत फागुनमा विराटनगरमा एक महिलालाई लुटपाट र जबरजस्ती करणी उद्योग गरेको आरोपमा मोरङ जिल्ला अदालतले उनलाई एक वर्ष ६ दिनको कैद सजाय तोकेकोमा उनी कैद भुक्तान नगरी फरार रहेको डिएसपी मिश्रले बताए ।